पोखरा / पोखरा महानगरपालिका–१ सिमपानीस्थित स्पाइरल ग्यालेक्सी एकेडेमी माविमा शुक्रवार लोकतान्त्रिक अभ्यासका रूपमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न गरिएको छ। विद्यालयले जिल्ला निर्वाचन कार्यालय, कास्कीको सहयोगमा आवश्यक निर्वाचन सामग्री प्राप्त गरी सम्पूर्ण प्रक्रिया अनुसरण गर्दै विद्यालय क्याप्टेन तथा उपक्याप्टेन चयन गरेको हो।
मतदान अधिकृत तथा विद्यालयका सह–प्राचार्य प्रेम शर्माका अनुसार क्याप्टेन पदमा एसिका श्रीस मगर ३ मतको साँघुरो अन्तरले विजयी भइन् भने उपक्याप्टेनमा जोनिया शाही ठकुरीले २७ मतको फराकिलो अग्रता लिँदै जित हात पारिन्।
निर्वाचन अधिकृत तथा प्राचार्य अशोक ओझाले विजयी उम्मेदवारहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, निर्वाचन प्रक्रियामा सक्रिय रूपमा संलग्न सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई धन्यवाद दिँदै यस अभ्यासले लोकतान्त्रिक मूल्य र सिद्धान्तको अनुभव प्रदान गरेको बताउनुभयो।
स्पाइरल ग्यालेक्सी एकेडेमीले हरेक वर्ष यस्ता गतिविधि सञ्चालन गर्दै विद्यार्थीहरूमा नेतृत्व क्षमता र नागरिक जिम्मेवारीको विकास गर्दै आएको छ।