पाेखरा ।।
आज गौतम बुद्धको २५६९ औँ जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिन बुद्ध जयन्ती मनाइन्छ ।
बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्वका अवसरमा सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।
विषेशगरी बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
यस्तै गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप पनि यो पर्व मनाउने गरिएको हो ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजपरिवारमा राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमले मानिसले यस धर्तीमा जन्म लिएपछि पाएको दुःख र पिडा देखेर चिन्तित बनेका थिए ।
जसका कारण २९ वर्षको उमेरमा उनले दरबारको सम्पूर्ण सुख छोडी तपस्याका लागि निस्किए । अन्त: उनले भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गरे जहाँ उनलाई सम्यक सम्बाेधि प्राप्त भयो । जसले बुद्धलाई सम्यक सम्बुद्ध बनायो ।
गौतम बुद्धको जन्म भगवान् विष्णुको नवौँ अवतारका रूपमा भएको समेत मानिन्छ ।









