“जन्ती र स्थानीयबीच झडप,पाँचजना घाइते: डिजे नाचले बिगार्‍यो बिहेको माहोल”
  • प्रमुख खबर

बिराटनगर/ मोरङको धनपालथान गाउँपालिका–६, कदमहामा एक विवाह समारोह रमाइलोभन्दा झडपमा परिणत हुँदा पाँच जना घाइते भएका छन्। शुक्रबार राति बेहुली लिन विराटनगरबाट आएको जन्ती र बिहेघरमा रहेका स्थानीयबीच विवाद हुँदै कुटाकुट भएपछि माहोल तनावपूर्ण बनेको थियो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, स्थानीय भजनलाल सहनीकी छोरीको बिहेमा राति करिब ११ः३० बजे डिजेमा नाचगान भइरहेका बेला बेहुली र बेहुला पक्षबीच भनाभन हुँदै झडप भएको हो।

झडपमा धनपालथान–६ का वीरेन्द्र सहनी (२८), श्रवण सहनी (२६), विराटनगर–११ का रोशन सहनी (२९), सुनील सहनी (२५) र अनिल सहनी (३५) घाइते भएका छन्। घाइतेहरू दुबै पक्षका रहेका छन् र सबैको उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

झडपकै क्रममा आक्रोशित भीडले बिहे घरका कुर्सी तोडफोड गर्नुका साथै मण्डपसमेत भत्काइदिएको थियो। अवस्था बिग्रँदै गएपछि बेहुली पक्षले हतारहतरमा विवाह प्रक्रिया पूरा गरी बेहुलीलाई जन्तीमा पठाएका थिए।

राति करिब १ बजे बेहुली लिएर फर्किएको जन्ती टोलीलाई प्रहरीले केही समय स्कटिङसमेत गरेको थियो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयले शान्तिपूर्ण वातावरणमा विवाह सम्पन्न नहुनु दुःखद भएको बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्