पोखरा ।।
सर्वोच्च अदालतले फेवातालको मापदण्ड कार्यान्वयनका लागि दिएको निर्देशन कार्यन्वयनमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका लागेका छन्।
सर्वोच्च अदालतले फेवातालको मापदण्ड कायम गर्न भनेर दिएको आदेश झण्डै दुई वर्षपछि मात्र कार्यन्वयनमा लागेका हुन्। जसअन्तर्गत शनिबार(आज) बाट फेवातालको सिमानामा पिल्लरहरु गाड्न सुरु गरिएको हो ।
आज बिहाना तिनै तहका सरकारका प्रमुख र प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमाङ्कन गरी सिमाक्षेत्रमा पिल्लरहरु गाडिएको हो ।
फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्थाबारे विवरणहरू यकिन गरिएका छन् । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ ।
ती विन्दुहरूको आधारमा तालको चार किल्ला क्षेत्रको सिमानामा १ हजार ५५ वटा पोलहरू गाडिने योजना रहेको छ ।
पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव निरीक्षक दिनेश कुमार आचार्य लगायतको उपस्थितिमा फेवातालको सिमाक्षेत्रमा ७ वटा पोलहरू गाडिएका छन् ।
सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ ।
उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग कि.मी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ ।
फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण सम्पन्न गरेको थियो ।
फेवाताल पर्यटनको राजधानी पोखराको मुटुको रूपमा रहेको छ। जसलाई जोगाउन तीनै तहका सरकार प्रमुखको उपस्थितिमा आज एक ऐतिहासिक कार्यको शुभारम्भ भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन्।
उनका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको १ हजार ५५ सीमा स्तम्भ गाड्ने कार्य औपचारिक रूपमा सुरु गरिएको हो ।
पोखरा महानगरपालिका , गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त प्रयासमा अघि बढाइएको यस अभियानले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक योगदान पुर्याउने समेत महानगर प्रमुख आचार्यले बताएका छन् ।
झन्डै १८ महिना लगाएर फेवा तालको “हाई फ्लड पोइन्ट” वैज्ञानिक ढंगले निर्धारण गरी १ हजार ५५ स्थानमा डिजिटल प्रणालीमार्फत सीमा पोईन्टहरू एकिन गरिएको छ।
उनले आजबाट यी पोईन्टहरूमा स्थायी सीमा स्तम्भ गाड्ने कार्य सुरु गरिएको बताउँदै करीब १६ किलोमिटर परिधिभित्र १ हजार ५५ पोल गाडिने छन्।
यसपछि मापदण्डभित्र पर्ने जग्गा र संरचनाहरूको नियमानुसार क्षतिपूर्तिको व्यवस्था गरिनेछ भने मापदण्डबाहिर अवैधानिक रूपमा बसेकाहरूलाई स्थान खाली गर्न आह्वान गरिनेछ।
आजको दिन पोखराको इतिहासमा मात्र नभई सम्पूर्ण मुलुकको जलस्रोत संरक्षणको यात्रामा पनि माईलस्टोन सावित भएको महानगर प्रमुख आचार्यले बताए ।











