पोखरा/ नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ। निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार अर्थात् असार २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको उल्लेख छ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ।
निगमले भारतको इण्डियन आयल कर्पोरेशनबाट २०८२ असार १ गते (१५ जुन २०२५) प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ४१ पैसा र डिजेलमा १ रुपैयाँ ६७ पैसा वृद्धि भएको जनाएको छ।
यही आधारमा निगम सञ्चालक समितिको निर्णयअनुसार खुद्रा बिक्री मूल्यमा समायोजन गरिएको हो। अब उपभोक्ताले नयाँ मूल्य अनुसार नै तेल खरिद गर्नुपर्नेछ।
लगातार भइरहने मूल्यवृद्धिले सर्वसाधारणमा असन्तुष्टि बढेको छ भने दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत असर पर्ने चिन्ता जनाइएको छ।











