सामाजिक संजाल नियमन गरे सञ्चार क्षेत्र आर्थिक रुपमा बलियो हुने सञ्चारमन्त्री गुरुङ
  • प्रमुख खबर

पोखरा ।।
नेपाल सरकारका सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक संजालले धेरै भ्रम र नकरात्मक सन्देश प्रवाह गरेको हुँदा त्यसको नियमन गर्न सके सञ्चार क्षेत्र आर्थिक रुपमा बलियो हुने बताएका छन्।

नेपाल पत्रकार महासंघले विहिबार पोखरामा आयोजना गरेको सामाजिक सुरक्षा कोषमा वृहत आवद्वता सम्बन्धि पत्रकारसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले अबौंको बिज्ञापन हाल सामाजिक संजालमा गएकोले यसको नियमन गर्न सके उक्त रकम संचार माध्यममा आउने दाबी गरेका छन्।

उनले यही पोखरामा रहेका कतिपय कर्पोरेट हाउसहरुले प्रचार-प्रसारको सामाजिक संजालको माध्यम प्रयोग गरेको हुँदा यहाँबाट मात्र करिब ३० करोडको विज्ञापन हुने भए पनि हाल संचार माध्यमको पहुचमा मुस्किलले २ करोड हुने गरेको बताए ।

यस्तै मन्त्री गुरुङले पत्रकारलाई समाचार लेखेकै भरमा दमन गर्न खोज्यो भन्ने कुरा सत्य नभएको बताउँदै बरु पत्रकारले आफ्नो पेसागत धर्मको पालना गर्दै आचारसंहिताभित्र बस्नुपर्ने बताए ।

उनले पत्रकारले झुट्टा र भ्रामक सूचना सम्प्रेषण गर्ने नहुने तर यदि सत्य समाचार छ भने आफ्नै विरुद्धमा भए पनि लेख्न छोड्न नहुने उल्लेख गरे ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आम संचार विधेयक ड्राफ गर्दै विभिन्न संघ संस्थासंग छलफलकै क्रममा रहेको बताउँदै आफुहरुले ल्याउन लागेको विधेयक मिडिया मैत्री भएको र यसले पत्रकारिता जगतका अहिलेका समस्या समाधान गर्ने पनि जानकारी दिए ।

यस्तै सो अभिमुखीकरण कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यस कोषमा अहिलेसम्म २३ लाख १४ हजार जना आबद्ध भएको जानकारी दिए। उनका अनुसार सो कोषमा १ खर्ब २० खर्ब रकम संकलन भई १५ अर्ब २० करोड रुपैयाँ भने दाबी भुक्तानी गरिएको बताए ।

विषेशगरी यस कोषमा जति धेरै सहभागीता हुन्छ त्यतिनै दिगोपन हुने बताउँदै प्रत्येक रोजगार दाताले समयमै कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा नलगे भइपरि आउने जोखिम स्वयम् रोजगारदाताले नै लिनु पर्ने समेत उनले स्पष्ट पारे ।

सामाजिक सुरक्षा कोषद्वारा औपचारिक क्षेत्रका श्रमिकहरूलाई प्रदान गरिने विविध १८ वटा सेवाहरू पर्दछन् ।

ती सेवाहरूमा मातृत्व, सुत्केरी, पितृत्व, अपांगता र आकस्मिक उपचार जस्ता स्वास्थ्य तथा सुरक्षा सम्बन्धी लाभका साथै सेवा निवृत्ति पेन्सन, मृत्युपछिको पारिवारिक लाभ, बेरोजगारी भत्ता र आवास कर्जाजस्ता आर्थिक सहायताहरू बारे पनि यस कोषमा समेटिएका छन् ।

यसका अतिरिक्त, बालबच्चाको शिक्षा, स्वास्थ्य र दुर्घटना बीमाका साथै स्वयं योगदानकर्ता र विदेशमा कार्यरत श्रमिकहरूका लागि योजनाहरू समेत यस कोषका महत्त्वपूर्ण सेवाहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्