पोखरा ।।
इरानबाट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी मिसाइल प्रक्षेपण गरिएको दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले समाचार प्रकाशित गरेको छ ।
अमेरिकी पक्षले ती मिसाइलहरूको ट्र्याकिङ गरिरहेको समाचारमा उल्लेख छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ र जोइन्ड चिफ अफ स्टाफका अध्यक्ष ड्यान केन हाल ‘सिचुएसन रूम’ मा छन्।
यसअघि एक वरिष्ठ अधिकारीले कतरस्थित अल उदैद एयर बेसमाथि सम्भावित आक्रमणको खतरा भन्दै ह्वाइट हाउस र रक्षा मन्त्रालयका अधिकारीहरू निगरानीमा रहेको बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उक्त बेसको भ्रमण गरेका थिए । सन् २००३ पछि त्यहाँ पुग्ने उनी पहिलो राष्ट्रपति बनेका थिए । यो मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो।
यस्तै कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ । भने अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेका छन् ।
कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। आफ्नो नागरिक, बासिन्दा र पर्यटकहरूको सुरक्षाको प्रतिबद्धताको रूपमा एयर स्पेस बन्द गरेको कतारी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।