इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछि कतारको जनजीवन सामान्य बन्दै गएको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले हिजो बेलुकीको आक्रमणपछि जनजीवन सामान्य हुँदै गएको जानकारी दिनुभएको दोहा न्यूजले जनाएको छ ।
कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई भनेको छ । जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग पनि खुला गरिएको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो ।
इरानले अमेरिकी आणविक साइटमाथिको हमलाको जवाफस्वरूप कम्तीमा छ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये एक मात्रै बेसभित्र खसेको र अरू सबै कतारको वायु प्रतिरक्षा प्रणालीले रोक्न सफल भएको कतारी अधिकारीहरुले दाबी गरेका छन् । इरान–इजरायलबीचको पछिल्लो तनावलाई मध्यनजर गर्दै कतारले सुरक्षा सतर्कता भने बढाएको छ ।