रसुवा
लगातार भएको भारी वर्षासँगै भोटेकोशी नदीमा एक्कासि आएको ठुलो बाढीले रसुवाको तिमुरे क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। लेदोसहितको उग्र बाढीले नेपाल–चीन सिमाना जोड्ने ऐतिहासिक मितेरी पुल पूर्णरूपमा बगाएको छ।
स्थानीय प्रशासनका अनुसार पुलसँगै भन्सार यार्ड (ड्राइपोर्ट) मा पार्क गरिएको झन्डै १०० देखि १५० वटा मालवाहक गाडीहरूमध्ये अधिकांश बाढीले बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। ती गाडीहरू चीनबाट सामान ल्याएर भन्सार प्रक्रिया पूरा गर्न तयारी अवस्थामा थिए।
बाढीका कारण भन्सार यार्डमा समेत ठूलो क्षति भएको छ। त्यहाँ रहेको संरचना, मालसामान र तयारी अवस्थाका कन्टेनरहरू समेत बगाएको छ।
बाढीमा १५ जना बेपत्ता भएका छन् भने खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ।
पुल बगाएसँगै रसुवागढी हुँदै सञ्चालनमा रहेको नेपाल–चीन स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जसका कारण दुई देशबीचको सामान आदान–प्रदान, व्यापारिक गतिविधि र आवत–जावतमा ठुलो अवरोध पुगेको छ।
सुरक्षाका दृष्टिले आसपासका क्षेत्र खाली गराउन थालिएको छ भने सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाइएको स्थानीय प्रशासनले जनाएको छ।














