अकाल मृत्युको चपेटामा परेको फेवातालमा तालघर सिमाङ्कनको पूर्णताले जगायो नयाँ आशा
  • सरिता गुरुङ

पोखरा ।।
पर्यटकीय राजधानी पाेखरामा अवस्थित फेवाताल प्राकृतिक सुन्दरता, सांस्कृतिक महत्त्व र पर्यटन सम्भावनाले भरिएको अद्भुत तालकाे रुपमा परिचित छ ।

समुन्द्री सतहबाट ७ सय ४२ मिटर उचाइ र ४.४३ वर्ग किलोमिटरकाे क्षेत्रफलमा फैलिएको याे ताल नेपालको दोस्रो ठूलो ताल समेत हो ।

फेवाताल सौन्दर्यसँगै मनोरञ्जन, धार्मिक र आर्थिक उपयोगका दृष्टिले पोखराको मुटु मानिन्छ । यस तालकाे प्रमुख आकर्षण भनेकाे सफा मौसममा तालको शान्त पानीमा माछापुच्छ्रे हिमालको स्पष्ट प्रतिबिम्ब देखिनु हाे ।

यससँगै अर्काे आकर्षणकाे रुपमा तालको बीचमा सानो टापुमा रहेको हिन्दुहरुकाे आस्थाकाे केन्द्र साथै शक्तिशाली मन्दिर ताल बराही जहाँ विभिन्न ठाउँहरुबाट दर्शन गर्न बर्सेनी कैयौं भक्तजनहरु आउने गर्छन् ।

यहाँ पर्यटकहरूका लागि रंगीचंगी डुङ्गा चढेर तालको मजा लिने सुविधा पनि छ, जुन यस तालको प्रमुख पर्यटकीय गतिविधिका लागि स्थापित छ ।

जति फेवाताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ त्यति नै जैविक र वातावरणीय रुपमा पनि यसकाे महत्त्व छ । याे ताल विभिन्न प्रजातिका जलचर, उभयचर(जमीन र पानी दुवै ठाउँमा बस्ने प्राणी), चराचुरुंगी र वनस्पतिकाे वासस्थानका पनि हाे ।

फेवातालको महत्त्व यतिमा मात्र कहाँ सीमित छ र यसमा रहेका जलवनस्पतिहरूको भूमिका पनि मानवजाति र अन्य प्राणीका लागि त्यति नै उपयोगी छ।

यस तालमा पाइने जलवनस्पतिहरूले कार्बन डाइअक्साइड लिने , अक्सिजन उत्पादन गर्ने र पानीको प्रदूषण घटाउने कार्य गर्छ । यसले स्थानीय वातावरणको तापमान, आर्द्रता र पानीको चक्र सन्तुलित राख्न मद्दत समेत गर्छ।

यसले वर्षा र भूजल पुनर्भरणमा पनि भूमिका खेल्छ। तर पछिल्लो समय मानवजन्य गतिबिधि, अतिक्रमण र प्रदूषणले यस ताल प्रतेक दिन मृत्युसँग लडिरहेकाे छ । जसले गर्दा यसकाे अस्तित्वमा खतरा उत्पन्न गराएको छ।

विषेशगरी यस ताललाई विभिन्न मानव गतिविधिबाट हुन् सक्ने अकाल मृत्युबाट जोगाउन गत जेठ १७ गते फेवाताल किनार (तालघर)मा पोल गाड्न शुरु गरिएको थियो । सो कार्य बुधबार(आज) सम्पन्न भएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार फेवाताल किनार (तालघर) सिमाङ्कन गर्ने पहिलो चरणको काम
करिब ४५ दिनको समयावधिमा सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम सम्पन्न भएको हो ।

अब दोस्रो चरणमा थप कामको सुरुवात गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । महानगर प्रमुख आचार्यका अनुसार सिमाङ्कनले पनि यस तालको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको बताए ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले फेवाताल किनार (तालघर)मा १ हजार ५५ वटा डिजिटल पोल गाड्न सिमाङ्कन गरेको थियो ।

प्राविधिक टोलिले प्राविधिक रुपमा मार्किङ गरेका सबै ठाउँमा भौतिक रुपमा पोल गाडेर सकिएको उनले जानकारी दिए ।

महानगर प्रमुख आचार्यका अनुसार सम्भव भएका स्थानहरुमा भौतिक रुपमै पोल गाडिएको र भौगोलिक जटिलता भएका भिरालो जमिनहरुमा भने आवश्यक चिह्न लगाउने कार्य सफलताका साथ सम्पन्न भएको बताए ।

उनले यस कार्य फेवाताल संरक्षणको लागि कोसे ढुङ्गा साबित हुने पनि बताए। त्यस्तै पहिलो चरणको कार्य सम्पादनसँगै अब दोस्रो चरणको कार्य पनि सुरु हुने बताउँदै अब तालघरदेखि ६५ मिटर भित्रका जग्गाहरुको वर्गिकरण गरिने उनले स्पष्ट पारे ।

तालको ६.४३ वर्ग किलोमिटर क्षेत्रफलभित्रको चारकिल्ला निर्धारणसँगै अब अतिक्रमणको रोग निको हुने आशा गरिएको छ। सिमाङ्कन कार्य पूर्ण भएपछि दीर्घकालीन संरक्षण योजना कार्यान्वयन गर्न सजिलो हुने विश्वास पनि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्