श्रावण १२,पाेखरा ।।
उनी मात्रै ३ वर्षका थिए । त्यही उमेरमा शरीरमा चट्याङको चोट प¥यो । अनि दृष्टि गुमाए । दृष्टिमा चट्याङ परेपछि पोखराका सूर्य परियारले जीवनमा समाजका धेरै चट्याङ बेहोरेका छन् । दृष्टिसँगै मातृत्वबाट पनि बञ्चित हुनु उनको जीवनमा परेको अर्को चट्याङ थियो । उनी भन्छन्, ‘दृष्टिविहीनता एउटा शारीरिक अवस्था हो । तर हाम्रो समाजमा अझै पनि यसलाई पूर्वजन्मको पापका रूपमा वा दया गर्ने विषयका रूपमा हेरिन्छ ।’
सूर्यका अनुभवमा संकुचित र गलत सोचले दृष्टिविहीनलाई समाजले दोहोरो अपाङ्गता बनाउँछ– शारीरिक र सामाजिक अपाङ्गता । उनी भन्छन्, ‘सानो छँदा केही थाहा थिएन, तर जब म बुझ्ने भएँ, तब थाहा भयो कि म अपहेलित रहेछु ।’ चर्मचक्षु गुमाए पनि सूर्यले ज्ञानचक्षु गुमाएका थिएनन् । अनि ‘औंलाको दृष्टि’ ले ब्रेललिपिका अक्षरहरु पढेर शिक्षा आर्जन गरे ।
“जुन समाजले पहिला अपहेलनाको दृष्टिले हेथ्र्यो, आज त्यही समाजसँग बोल्न, संवाद गर्न सक्ने भएको छु ।’अपाङ्गतालाई रोग होइन, विविधताको रूपमा बुझ्नुपर्छ ।”
शिक्षा संकायमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनले सञ्चार क्षेत्र रोजेका छन् । ३५ वर्षको उमेरसम्म आइपुग्दा जीवनमा धेरै संघर्ष र चुनौतीको सामना गरेका परियार रेडियोमा कार्यक्रम सञ्चालन, रेकर्डिङ, मिक्सिङ, टाइपिङ र एडिटिङ समेत आफैँ गर्छन् । उनी भन्छन्, ‘म दृष्टिविहीन भए पनि दिशाहीन छैन । जुन समाजले पहिला अपहेलनाको दृष्टिले हेथ्र्यो, आज त्यही समाजसँग बोल्न, संवाद गर्न सक्ने भएको छु ।’ उनी सञ्चार माध्यमबाट अपाङ्गताको सवाल उठाइरहन्छन् ।
२०३३ सालमा धादिङको साविक बैरेनी–८ मा जन्मिएका पुष्पराज रिमालले जन्मदेखि संसार देख्न पाएनन् । शिक्षाको ज्योति खोज्दै काठमाडौं पुगेका उनलाई जागिरको भोकले पोखरा तान्यो । शून्य दृष्टि शक्ति भएका रिमालको जीवनको एक मोडमा श्रवणशक्तिसमेत कमजोर भयो । परिवारको साथले आत्मबल र प्रविधिले जीवनका गोरेटाहरूमा उज्यालो भेटे । रिमाल बुबाको माया र प्रेरणाले नै आफूजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिको मार्गदर्शक बनिरहेका छन् ।
अपाङ्गता सम्बन्धी विभिन्न संघसंस्थाको नेतृत्व गरी थुप्रै व्यक्तिहरूको पथप्रदर्शक रिमाल पोखराको अमरसिंह माविमा शिक्षक पनि हुन् । कम्प्युटर, मोबाइलजस्ता डिभाइसदेखि नयाँ प्रविधि एआईसम्म उनी सजिलै चलाउँछन् । रिमाल कम्प्युटर र मोबाइल जीवनको अभिन्न अंग अर्थात् आँखा बनेको महसुस गर्छन् ।
शिक्षा संकायबाट नेपालीमा स्नातक तहसम्मको अध्ययन गरेका रिमाल भन्छन्, ‘ अपाङ्गतालाई रोग होइन, विविधताको रूपमा बुझ्नुपर्छ । अपाङ्गता कुनै असक्षमता होइन, त्यो त विविधताको रूप हो । यो एउटा अवरोध हो, कुनै समस्या होइन । ती अवरोध हटाइयो भने हामी पनि गर्न सक्छौँ ।’
अपाङ्गतालाई पन्छाउँदै अघि बढ्दै छिन् पोखरा–१९, लामाचौरकी अञ्जना केसी । ३७ वर्षीय केसी जन्मजात शारीरिक अपाङ्गता भएकी व्यक्ति हुन् । शारीरिक अपाङ्गता भए पनि आमाको निस्वार्थ प्रेमले कहिल्यै अनुभूति गर्नुपरेन । विद्यालयको कक्षासम्म पुग्न चढ्ने गरेको आमाको पिठ्युँले जीवनकै शिखरमा पु¥याएको बताउँछिन् केसी । उनी भन्छिन्, ‘आमाले बोकेर विद्यालय लगिदिनुहुन्थ्यो । यो क्रम १२ कक्षाको अध्ययन नसकुन्जेल चलिरह्यो । शौचालयको असुविधा, महिनावारीजस्ता शारीरिक चुनौतीहरूबाहेक विद्यालयको वातावरण सहज थियो ।’
१७ वर्षसम्म आफ्नै अपाङ्गतालाई स्वीकार नगरेकी केसीले स्नातकको अध्ययनसँगै कमाउन पनि सुरु गरिन् । उनी भन्छिन्, ‘ अपाङ्गता भएका व्यक्तिका लागि शिक्षामा पहुँच अझै पनि चुनौतीपूर्ण छ । आत्मनिर्भर बन्न सबैभन्दा बलियो हतियार शिक्षा नै हो ।’ १२ वर्षदेखि गण्डकी प्रदेशमा अपाङ्गता क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छिन् । उनी राष्ट्रिय अपाङ्गता महासंघ नेपाल, गण्डकी प्रदेशकी उपाध्यक्ष हुन् ।
बेलायती वैज्ञानिक स्टेफेन हकिङ त संसारकै उदाहरण हुन्, जो, हिँड्न, बोल्न र सुन्न पनि सक्दैनथे । तर भौतिक विज्ञानको क्षेत्रका महान् वैज्ञानिक बन्न सके । अमेरिकी लेखिका हेलेन केलर सामाजिक आन्दोलन र मानवअधिकारका लागि एउटा बुलन्द आवाज बनिन् ।
हकिङको जस्तै बोल्ने आवाज थिएन, न त हिँड्नका लागि खुट्टामा सामथ्र्य, न त हातमा कुनै शक्तिे । तर धनकुटाकी झमककुमारी घिमिरे खुट्टैले लेखेर लेखक बनिन् । नेपाली साहित्यमा सबैभन्दा प्रतिष्ठित मदन पुरस्कार पनि जितिन् ।
२०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू छन् । अर्थात् २ करोड ९१ लाख ६४ हजार ५७८ जनामा ६ लाख ४१ हजार ६२१ जना अपांग छन् । जनगणनामा समेटिएको विवरणअनुसार शारीरिक अपाङ्गता, न्यून दृष्टियुक्त, दृष्टिविहीन, बहिरोपन, मनोसामाजिक अपाङ्गता, न्यून श्रवणशक्ति, बहिरोपन एवं दृष्टिविहीन, सामाजिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, आनुवंशिक रक्तस्राव (हेमोफिलिया), अटिजम र बहुअपांगता गरी १२ प्रकारका छन् । अपाङ्गताको प्रकृतिअनुसार सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्ति छन् भने लैंगिक दृष्टिकोणले पुरुषमा बढी अपाङ्गता देखिन्छ । जसमा महिला २ प्रतिशत र पुरुष २.५ प्रतिशत छन् ।
नेपालले अपांगता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्न विभिन्न संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिबद्धता गरेको छ । नेपालको संविधानले पनि अपांगता भएका नागरिकहरूलाई सम्मानजनक बाँच्न पाउने, अवसरमा पहुँच र सहभागिताको ग्यारेन्टी गरेको छ ।
अधिवक्ता कुञ्जनी परियार भौतिक संरचना अपाङ्गमैत्री नहुनु, दोभाषेको व्यवस्था नहुनु लगायतका चुनौतीहरूले गर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यायको पहुँचमा बाधा पुग्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘दृष्टिविहीन र श्रवणदृष्टिविहीन व्यक्तिहरूलाई मुद्दा दर्ता गर्ने प्रक्रियामा सहभागी हुन सहज छैन भने शारीरिक अपाङ्गता भएका व्यक्तिहरू कानुनी सहायता प्राप्त गर्ने सवालमा पनि अपाङ्गमैत्री संरचनाको अभाव झेलिरहेका छन् ।’
कानुनका व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन गर्ने हो भने मात्र पनि समानता सम्भव हुने परियारको धारणा छ । उनी भन्छिन्, ‘ह्वीलचेयर प्रयोग गर्ने व्यक्तिले तेस्रो तलासम्म जान सक्ने कुनै व्यवस्था छैन । यस्तो अवस्थाले अपाङ्गता भएका व्यक्तिहरू आफ्नो मुद्दामा प्रत्यक्ष रूपमा सहभागी हुन वा के भइरहेको छ भन्ने बुझ्न पनि सक्दैनन् ।’
संवैधानिक व्यवस्थाले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व भने कमजोर छ । प्रतिनिधि सभामा १ जना, राष्ट्रिय सभामा ४ जना, गण्डकी प्रदेशमा १ जना, बागमती प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना सांसदको प्रतिनिधित्व छ ।
देशभरिका पालिका र समावेशीको नीतिले महिला, दलित र अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेजस्तै अपाङ्गताको प्रतिनिधित्व भने किटान गरेको छैन । गण्डकी प्रदेश सभामा सदस्य भएकी सुनीता थापा अपाङ्गताको क्षेत्रका आवाज उठाइरहन्छिन् ।
सूर्य, अञ्जना, पुष्प जो जहाँ र जुन क्षेत्रमा छन्, अपाङ्गता भएका व्यक्ति क्षमतामा कमजोर देखिएका छैनन्, बरु सक्षमताको उदाहरण बनेका छन् ।
यो समाचार कोपिला नेपालको फेलोसिप अन्तर्गत तयार गरिएको हो ।