पोखरा महानगरले सञ्चालनमा ल्यायो आप्रवासी सहायता केन्द्र
  • प्रमुख खबर

भाद्र ५ गते, बिहीबार
पोखरा ।। पोखरा महानगरपालिकाले आप्रवासी कामदारका लागि सहायता स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालनमा ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको परिसरमा स्थापना गरिएको केन्द्रको बिहीबार महानगरपालिकाका  प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको समेत उपस्थिति थियो ।

सो अवसरमा महानगर प्रमुख आचार्यले राहदानी बनाउन जाने व्यक्तिहरूलाई विदेश जानु पूर्व दिइने आवश्यक परामर्श सेवाका लागि एक व्यवस्थित सहायता कक्ष निर्माण भएको बताए ।

केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक परामर्श र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको परिवारका लागि वित्तीय साक्षरता समेतका सवालमा यस केन्द्रबाट परामर्श सेवा दिइने उनले बताए।

त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले राहदानी शाखा नजिकै निर्माण भएको यस सहायता कक्षले सेवाग्राहीलाई सहज पहुँच दिने विश्वास व्यक्त गरिन् ।

उनले सहायता कक्ष राहदानी शाखाको नजिकै निर्माण गरिएकाले त्यसको प्रयोजन, आवश्यकता र औचित्यका सन्दर्भमा समेत काउन्सिलिङ गर्न सहज हुने बताइन् ।

विषेशगरी सेवाग्राहीको सुविधा र व्यवस्थापनमा महानगरपालिकाले पुर्‍याएको योगदानप्रति उनले धन्यवाद  व्यक्त गरिन् ।

सेवाग्राहीहरूले विश्राम गर्ने फल्चा सहित सहायता कक्ष निर्माणमा पोखरा महानगरपालिकाले १६ लाख रुपैयाँ खर्च  गरेको छ । यसको निर्माणले नागरिकहरूको सेवाका लागि सहज हुने विश्वास गरिएको छ ।

पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णु प्रसाद दाहाल र सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक आदिमध्वज श्रेष्ठले महानगरपालिकाको तर्फबाट  श्रम तथा रोजगारको क्षेत्रमा समन्वय गरिरहेको बताए ।

यस केन्द्रको स्थापनासँगै अब वैदेशिक रोजगारीमा जाने र विदेशमा रहेका कामदारका परिवारलाई उपयोगी हुने परामर्श र जानकारी सहज रुपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्