भाद्र ९,पोखरा
हिन्दू नारीहरूको महान पर्व
तीज नेपाली महिलाहरूको प्रमुख पर्व हो, जसले धार्मिक, सांस्कृतिक, सामाजिक र भावनात्मक दृष्टिले विशेष महत्व बोकेको छ। यो पर्व मुख्यत: भाद्र महिनाको शुक्ल पक्षको तृतीयामा मनाइन्छ। हिन्दू धर्मअनुसार, भगवान् शिव र पार्वतीको विवाहस्मृतिमा यो पर्व मनाउने गरिएको हो। देवी पार्वतीले कठोर व्रत बसेर भगवान् शिवलाई पति रूपमा प्राप्त गरेको कथासँग तीज जोडिन्छ। त्यसैले महिलाहरूले आफ्ना पति दीर्घायु, सुख–सम्पत्ति र पारिवारिक समृद्धिको कामना गर्दै तीजमा व्रत बस्ने परम्परा रहिआएको छ।तीजमा महिलाहरूले प्राय: निर्जला उपवास बस्ने प्रथा छ।
बिहान स्नान गरी पवित्र लुगा लगाई शिवालयमा गई पूजा गर्ने, व्रत बसेर रातभरि भजन, गीत र नृत्य गर्ने चलन परम्परागत रूपमा प्रचलित छ। विशेषगरी महिलाहरू रातो रंगको सारी, हरियो चुरा, पोते र टिका लगाएर सजिन्छन्। रातो रंगलाई सौभाग्य र उत्साहको प्रतीक मानिन्छ भने हरियो चुरालाई जीवनशक्ति र समृद्धिसँग जोडिन्छ। यसरी तीजलाई महिलाहरूको सौन्दर्य, आत्मीयता र श्रद्धाको पर्वका रूपमा बुझिन्छ।
दर खाने दिन
तीज पर्वको अर्को विशेष पक्ष भनेको “दर खाने दिन” हो। तीज सुरु हुनु अघिल्लो दिन दिदीबहिनीहरू माईती घर भेला भएर विभिन्न परिकार—माछा, मासु, मिठाइ, फलफूल आदि खाने चलन छ। यस दिनलाई महिलाहरूले निकै रमाइलो गर्दै “दार खाने दिन” का रूपमा मनाउँछन्। यसले तीजलाई केवल धार्मिक मात्र नभई भेटघाट र आनन्दको पर्वका रूपमा पनि स्थापित गरेको छ।
समयको माग कि मौलिक संस्कृतिको अन्त्य?
समयसँगै तीजको स्वरूपमा ठूलो परिवर्तन आएको छ। पहिलेको तीज धार्मिक आस्था र भक्तिमा सीमित थियो भने अहिलेको तीज आधुनिक जीवनशैली, मनोरञ्जन र सामाजिक चेतनासँग जोडिएको छ।
अहिलेको तीज पर्वमा केहि सकारात्मक परिवर्तन भए पनि धेरै नकारात्मक पक्षहरूले जरो गाडेको छ। पहिले धार्मिक आस्था र सादगीमा केन्द्रित तीज अहिले अत्यधिक व्यापारीकरणतर्फ उन्मुख भएको छ। कपडा पसल, सौन्दर्य पार्लर, भोजघर र म्युजिक उद्योगले तीजलाई व्यवसायिक अवसरमा बदल्दा यसको मौलिकता ओझेलमा पर्न थालेको छ। महिलाहरूबीच महँगो सारी, गहना, मेकअप र फोटोसुट गर्ने होड चल्दा साधारण आर्थिक अवस्था भएका महिलाहरूलाई मानसिक दबाब पर्नुका साथै सामाजिक असमानता बढेको छ। त्यस्तै, पहिले संस्कार र भक्ति गीतमा आधारित तीजका गीतहरू अहिले अश्लील शब्द, भड्किला लय र केवल नाचगानमा सीमित हुने प्रवृत्ति बढेको छ, जसले मौलिक संस्कृति कमजोर बनाइरहेको छ। कतिपय ठाउँमा तीजको नाममा मद्यपान, भड्किला पार्टी र अशोभनीय रमाइलो हुने गरेको छ, जसले यस पर्वको पवित्रता नष्ट गर्ने काम गरेको छ। साथै, व्रत र पूजा गर्ने मूल उद्देश्यभन्दा रमाइलो, भोज र प्रदर्शनलाई बढी प्राथमिकता दिन थालिँदा तीज आफ्नो धार्मिक–आध्यात्मिक गहिराइबाट टाढिँदै गएको अनुभूति हुन्छ।
हाम्रो संस्कृतिलाई जोगाउँ
तीज पर्वलाई मौलिक, पवित्र र सन्देशमूलक बनाउनका लागि केही सुधार आवश्यक छन्। पहिलो, तीजलाई केवल फ्याशन र खर्चको पर्व बनाउनुभन्दा यसको धार्मिक र सांस्कृतिक महत्वलाई प्राथमिकता दिनुपर्छ। दोस्रो, तीज गीतलाई अश्लीलता र भड्किलोपनबाट जोगाई महिला सशक्तिकरण, समानता, परम्परा र संस्कृतिलाई जोड्ने खालका गीत प्रोत्साहन गर्नुपर्छ। तेस्रो, व्यापारीकरणलाई सीमित गर्दै साधारण महिलाले पनि सहज रूपमा सहभागी हुन सक्ने वातावरण बनाउनुपर्छ। चौथो, तीजलाई अवसर मानेर सामाजिक समस्याहरू—जस्तै दाइजो प्रथा, घरेलु हिंसा, लैङ्गिक विभेद विरुद्ध सचेतना फैलाउने माध्यम बनाउन सकिन्छ। अन्त्यमा, महिलाबीच भेटघाट, आत्मीयता र माया–प्रेमलाई जोगाउँदै यसलाई आफ्नो मौलिकता नहराई समुन्नत बनाउन हामी सबै सचेत हुनुपर्छ।