भाद्र १७, पोखरा ।।
फिल्ममा गहिरो र प्रभावशाली चरित्र उतार्ने पात्रलाई नै प्रायः ‘नायक’ भनिन्छ । यही आधारमा हालै प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’ मा नायिका सुरक्षा पन्त नै वास्तविक नायकका रूपमा देखिन्छिन् । यद्यपि नवनायक मञ्जिल कुमारको अभिनय पनि उल्लेखनीय छ, तर सम्पूर्ण कथाको धुरी भने सुरक्षाकै वरिपरि घुमिरहेको छ ।
समाजमा विद्यमान गरिबी, वैदेशिक रोजगारीमा पुगेका व्यक्तिहरूको आशा–निराशा, रित्तिँदै गएको गाउँ, गाउँमा बस्नको लागि गर्नुपर्ने संघर्ष, अनि गाउँभित्रै रहेका साना–ठूला शक्तिहरूको खेललाई चलचित्रले यथार्थपरक ढंगले उतारेको छ ।
सुरुमा कथाले दर्शकलाई विशेष तान्न नसकेजस्तो लाग्छ । को तर चाडपर्व तिज, दशैं र तिहारको सन्दर्भसँग जोडिँदै जाँदा कथा बिस्तारै गहिरिँदै जान्छ ।
प्रचारमा आएका गीत–संगीतले पनि चलचित्रप्रति दर्शकको ध्यान आकर्षित गरेको छ । ‘नत्र भने बाटुली ‘’ गीतले हलमै दर्शकलाई सँगै गुनगुनाउन बाध्य पारेर सहजै तानिदिन्छ ।
चलचित्रका पात्रहरू आर्यान सिग्देलले ऋषिराम र निति शाहले निलिमाको कथामा रंग र मसला थपेका छन् । उनीहरूको व्यक्तिगत आकर्षणले पनि दर्शकलाई लोभ्याएको छ ।
मञ्जिल मात्र सुरक्षासँग केन्द्रित भएको भए कथामा एकरसता आउँथ्यो, त्यसैले निर्देशकले अरू पात्रलाई सशक्त ढंगले समेटेका छन् ।
ऋचा शर्माको छोटो भूमिकालाई पनि कथामा मिसाएर दर्शकलाई परिचित अनुहार देखाउने चतुर प्रयास गरिएको छ, जसले कथा अझ जीवन्त बनाएको छ ।
यस चलचित्रमा कथावस्तु नयाँ कोणबाट प्रस्तुत गरिएको छैन, तर कथा बुझ्न सजिलो र हेर्न लायक छ । चलचित्रले देखाएको मुख्य सन्देश बाध्यता र वास्तविकता हो ।
शितलको भूमिकामा सुरक्षा र संजोगले मञ्जिलको प्रेम पैसामा अड्किएको देखिन्छ र धेरै युवा नेपालमै केही गर्न चाहे पनि परिस्थितिका कारण वैदेशिक रोजगारीमा जान बाध्य हुन्छन्, जसले कथामा यथार्थपरक संघर्ष र भावनात्मक गहिराइ थपेको छ ।
संजोगले विदेश नजाने, नेपालमै केही गर्ने सपना देख्छ, तर लोकसेवाको नतिजाको पर्खाइ र असफलताले उ निराश हुन्छ ।
यसैबीच, गाउमै र विदेशमा समेत रोजगारीको अवसर पाउने शितललाई पुरुषवादी तथा पुरातनवादी सोचसँगै चाखो मायाको कारण संजोगको मनमा द्विविधा उत्पन्न हुन्छ ।
निर्देशकले यसको यथार्थपरक प्रतिक्रिया सुसंगत रूपमा प्रस्तुत गरेका छन्, जसले कथालाई अझ जीवन्त बनाएको छ ।
चलचित्रको कथामा बिहेपछि परिवारको दबाब, रोजगारी नपाउने अवस्था, र विदेश जाने बाध्यताले जीवनमा पीडा थप्छ ।
चलचित्रको दोस्रो खण्डमा घटनाक्रमले दर्शकलाई रोह्याउने र आँसु झार्ने स्तरसम्म पुर्याउँछ । शितलले मायाका खातिर भोग्नुपरेको दुख, त्याग, सम्झौता र वियोगले दर्शकको मन छोइदिन्छ ।
खलनायक प्रवीण खतिवडा उर्फ धनबीरले निभाएको भूमिकाले पनि दर्शकलाई मनोरञ्जनका साथ वास्तविकता बुझाउँछ ।
चलचित्रले देशको वर्तमान अवस्था नेता, सरकार, मन्त्रीहरूबाट आउने सहयोग, आश्वासन र अवहेलना, साथै उनीहरूसँगको व्यवहारलाई सुसंगत रूपमा प्रस्तुत गरेर दर्शकलाई सामाजिक यथार्थप्रति चेतना दिन्छ ।
प्राविधिक हिसाबले चलचित्र कतिपय ठाउँमा कमजोर देखिन्छ । तर कथाको दोस्रो भागले भावनात्मक रूपमा दर्शकलाई बलियोसँग बाँध्ने भएकाले यी कमजोरी हराउँछन् ।
अन्य कलाकारहरू सरोज खनाल, लोकमणी सापकोटा, हिउवाला गौतम, सिरु बिस्ट, निदेश काफ्ले आदिको अभिनयले पनि चलचित्रलाई उचाल्ने काम गरेको छ ।
‘कोशेढुंगा’ले नायिका सुरक्षा पन्त र नवनायक मञ्जिल कुमारलाई नयाँ उचाइ दिएको छ । अन्त्यमा मायाले जिते पनि हारेपनि…।
चलचित्रले नेपाली समाजको वास्तविकता उजागर गर्न सफल भएको छ । ‘कोशेढुंगा’ एक सामाजिक नाटक हो, जसलाई मध्यमवर्गीय नेपालीहरूको कथा वा नेपाली युवाको वास्तविक अवस्था भन्न सकिन्छ ।
समसामयिक विषय उठान गरेर चलचित्रले नेपाली सिनेमा क्षेत्रमा नयाँ आयाम या भनौ एउटा कोशेढुंगा पक्कै थपेको छ ।















