भाद्र २२, काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि हुन लागेको जेनजी पुस्ताको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ। आइतबार जारी विज्ञप्तिमा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जेनजीहरूले सडकमा आउन गरेको तयारीलाई महत्वपूर्ण राजनीतिक परिघटना बताएका छन्।
रास्वपाले प्रदर्शनलाई विफल पार्ने, घुसपैठ गर्ने वा दमन गर्ने जस्ता गतिविधि नगर्न सरकार र सत्तापक्षीय दललाई सचेत गराएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारको निरन्तर कुशासन, राज्यशक्तिको दुरुपयोग र मौलिक हक हननका विरुद्ध हाम्रो आवाज सदनदेखि सडकसम्म निरन्तर उठिरहेको छ। यस परिप्रेक्ष्यमा जेनजी पुस्ताले सडकमा आउन आँट्नु राजनीतिक दृष्टिले महत्वपूर्ण छ।”
रास्वपाले जेनजीले उठाएका मुद्दाहरूलाई निष्कर्षमा पुर्याउन आग्रह गर्दै प्रदर्शनप्रति निगरानी राख्ने बताएको छ। साथै, प्रदर्शनमा सहभागी आफ्ना कार्यकर्तासहित सम्पूर्ण युवालाई कुनै दलको नाम, नारा वा परिचय प्रयोग नगरी ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेको छ।











