प्राज्ञ नगेन सिंहको ‘हाइपोथेटिक’ भनिएको कलाकृति, २०८२ मा यर्थाथमा परिणत
  • प्रमुख खबर

भाद्र २९, पोखरा ।।
करिब २१ वर्षअघि वरिष्ठ कलाकार प्राज्ञ नगेन सिंहले तयार पारेको “नेपालमा नारीको शासन” शीर्षकको कलाकृति अहिले फेरि चर्चामा आएको छ ।

वि. सं २०६१ सालमा काठमाडौंको ललितकला क्याम्पसमा बीएफए कम्पोजिसन कक्षाको गृहकार्यका रूपमा पानीरङ प्रयोग गरेर तयार गरेको उक्त चित्र अहिलेको राजनीतिक परिवेशसँग मेल खान पुगेपछि चर्चामा आएको हो।

प्राज्ञ सिंहले तत्कालीन गुरु गोविन्दलाल डंगोलको प्रेरणामा उक्त कलाकृति ठूलो क्यान्भासमा तयार गरेका थिए। करिब २ फिट ४ इन्च चौडाई र ५ फिट १० इन्च लामो आकारको सो चित्रलाई उनले एक्रिलिक रंगमार्फत जीवन्तता दिएका थिए।

आफ्ना पुराना ती दिनहरूलाई सम्झदै उनी भन्छन, “राजाको सक्रिय शासनकालमा निरन्तर आन्दोलन भइरहन्थ्यो। त्यतिबेला रत्नपार्कका दृश्यहरूले मलाई प्रेरित गर्यो अनि त्यस समय मेरो मस्तिष्कमा एउटै कुरा खेल्यो सायद यदि पुरुषहरू शान्त भएर घरमै आराम गरेर बस्यो भने र नारीहरूले शासन सम्हाले भने नेपाल साच्चै शान्त र सुन्दर बन्छ होला ।”

यही विषय मेरो मानसपटलमा निरन्तर चलिरह्यो र त्यसैको परिणामस्वरूप आफ्ले उक्त कलाकृति तयार पारेको बताए ।

यो कलाकृति पहिलो पटक उनको चौथो एकल प्रदर्शनी “माइ रिजेक्टेड आर्ट” मा प्रदर्शन गरिएको थियो। त्यतिबेला पाँच रुपैयाँको टिकट काटेर मात्र प्रदर्शनी हेर्न पाइन्थ्यो।

प्राज्ञ सिंह भन्छन्, “साथीभाइ, पत्रकार, कलाकार र दर्शकहरूले त्यतिबेला यो सम्भव होला र भन्दै मलाई ‘हाइपोथेटिक’ काम गरे जस्तो गरेर व्यंग्य गरेका थिए। तर २०६१ मा मेरो मानसपटलमा निरन्तर आएको चित्रलाई त्यस समय मैले क्यान्भासमा कोरे जुन भाव अहिले २०८२ सालमा आएर यर्थाथमा परिणत भएको देख्दा आफैं दंग छु।”

उनको भनाइमा कलाकारलाई ‘अघोषित सांसद’ भन्नु व्यर्थ रहेनछ। “हामीले चित्रण गर्ने दृश्यहरू केवल वर्तमानका लागि मात्रै हुँदैनन्, यसमा भविष्यका सम्भावनाहरू पनि क्यानभासमा उतार्न सकिन्छ भन्ने यो एउटा उदाहरण पनि हो,सिंहले भने।”

‘जय कला क्रान्ति, विश्वमा छाओस् शान्ति’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै उनी अहिले “विश्वको उत्कृष्ट गन्तव्य नेपाल ” बनाउने अभियानमा सक्रिय छन्।

सो अभियान अन्तर्गत उनले ‘नेपाल यात्रा पुस्तक’ प्रकाशन गरेर २०८७ सालसम्ममा देशमा एक करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका छन्।

हाल ‘नेपालमा नारीको शासन’ शीर्षकको यो चर्चित कलाकृति पोखरा महानगरपालिका–८, न्यूरोडस्थित अभियानको सम्पर्क कार्यालयमा अवलोकनका लागि राखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्