फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २२ को ज्यान गयो
  • प्रमुख खबर

अश्विन १५, काठमाडौँ

फिलिपिन्समा मंगलबार राति गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्तीमा २२ जनाको ज्यान लिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रविन्दु सेबु प्रान्तको बोगो नजिक, पालोम्पोन क्षेत्रमा राति करिब ९ः५० बजे रहेको थियो । कम गहिराइमा गएको यो भूकम्पले मध्य फिलिपिन्सलाई हल्लाएको थियो ।

भूकम्पका कारण बोगो सहरमा मात्रै चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार, तीन जनाको मृत्यु पहिरोमा पुरिँदा भएको हो । छिमेकी सान रेमिगियो नगरपालिकामा थप पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने ताबुएलानमा एक व्यक्तिको ज्यान गएको छ ।

सान रेमिगियोको एक खेलकुद भवनमा छत भत्किँदा चार जनाको मृत्यु भएको थियो । तीमध्ये तीन जना कोस्टगार्ड सदस्य थिए, जसले बास्केटबल प्रतियोगिता खेलिरहेका थिए ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पपछि हालसम्म ३७९ परकम्प मापन गरिएको छ । प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्