ओलीविरुद्ध किटानी जाहेरी प्रयासपछि बालेन र सुधनविरुद्ध अखिलको काउन्टर तयारी
  • प्रमुख खबर

अश्विन २१,काठमाडौँ

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले काउन्टर कदम चालेको छ । संगठनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ।

अनेरास्ववियुका नेताहरू काठमाडौं प्रहरी परिसरमा काउन्टर जाहेरी दर्ता गर्न जाँदै छन्। अखिलका शीर्ष नेताहरूको बैठकले सरकारी सम्पत्तिमा आगजनी, निजी सम्पत्तिको क्षति र प्रहरीको हत्या जस्ता घटनामा बालेन र सुधनको संलग्नता रहेको भन्दै जाहेरी दर्ता गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

संगठनका महासचिव दीपक धामीका अनुसार उनीहरू आज साँझ ५ बजेभित्र जाहेरी दर्ता गराउने तयारीमा छन्।

यसअघि हिजो सुधन गुरुङ नेतृत्वको समूहले एमाले अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजेको थियो, तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो। सो घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन्।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जाहेरी दर्ता गर्न प्रधानमन्त्री कार्यालयबाटै लिखित निर्देशन आउनुपर्ने सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्