असोज ३१, काठमाडौं ।।
नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पतालबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबीच विशेष स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको हो।
सम्झौतापत्रमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र नाम्सका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले हस्ताक्षर गरेका छन्।
यो सम्झौता पाँच वर्षका लागि लागू हुने र आवश्यकता अनुसार नवीकरण गर्न सकिने गरी सम्झौता भएको राखेपले जनाएको छ।
राखेपका अनुसार खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको जसको प्रमाणिकरणपछि मात्रै खेलाडीहरूले छुट पाउने व्यवस्था गरिएको छ।
नाम्सले खेलकुद क्षेत्रमा संलग्न प्राविधिक र कर्मचारीलाई समेत यो सुविधा उपलब्ध गराउनेछ। सबै सेवाहरू दक्ष चिकित्सकको निगरानीमा उपलब्ध हुने र खेलाडीहरूले प्रयोगशाला परीक्षणदेखि अपरेसनसम्मका सेवामा छुट पाउने भएका छन्।















