असोज ३१, काठमाडौं ।।
एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोट अन्तर्गत नेपालले घरेलु टोली थाइल्यान्डसँग भिड्दैछ ।
समूह ‘एफ’ अन्तर्गतको यो दोस्रो तथा निर्णायक खेल थाइल्यान्डको चोनबुरी रंगशालामा शुक्रबार (आज) साँझ सवा ५ बजेबाट सुरू हुनेछ।
नेपालले यसअघि भएको पहिलो खेलमा तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो।
यता, थाइल्यान्डले भने तुर्कमेनिस्तानलाई १७–० को विशाल गोल अन्तरले पराजित गर्दै आफ्नो सामर्थ्य प्रदर्शन गरिसकेको छ।
नेपालका लागि आजको खेल अत्यन्तै चुनौतीपूर्ण हुने अनुमान गरिएको छ।
आजको खेलमा नेपालले जीत हासिल गर्यो भने एशियन कपमा पुग्ने सम्भावना कायम हुनेछ। तर हार वा बराबरी भए चीनमा हुने मुख्य प्रतियोगिताको ढोका बन्द हुन सक्ने सम्भावना रहेको छ।
समूह ‘एफ’ मा नेपाल, थाइल्यान्ड र तुर्कमेनिस्तान रहेका छन्। समूहको शीर्ष स्थान हासिल गर्ने टोलीले मात्रै आगामी वर्ष चीनमा हुने एएफसी यू–१७ महिला एशियन कपमा खेल्ने अवसर पाउनेछ।