हुलास र अशोक स्टीलले तिर्न थाल्यो विद्युत बक्यौता किस्ता भुक्तानी सुरु
  • प्रमुख खबर

Oplus_131072

असोज ३१, काठमाडौं ।।
बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले लामो समयदेखि तिर्न बाँकी रहेको प्रिमियम महसुल बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई नियमित किस्तामा तिर्न सुरु गरेको छ।

सो उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकम तिर्न लागेको हो।

प्राधिकरणसँगको सम्झौता अनुसार हुलास स्टीलले प्रतिमहिना ५० लाख ४३ हजार रुपैयाँ दरले २८ किस्ता भित्र बक्यौता बुझाउनेछ।

शुक्रबार(आज) उद्योगले पहिलो किस्ता भुक्तानी गरेर प्रक्रिया सुरु गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिल्वाले जानकारी दिएका छन्।

त्यस्तै सिमरामा अवस्थित अर्को प्रमुख उद्योग अशोक स्टीलले पनि आफ्नो १७ करोड ५८ लाख रुपैयाँको बक्यौता भुक्तानीको पहिलो किस्ता बुझाएको छ।

अशोक स्टीलले २८ किस्ताको सुविधा लिँदै ६३ लाख रुपैयाँ तिरेको हो। विद्युत प्राधिकरणका अनुसार, यो किस्ताबन्दी भुक्तानीको सुरुवात उद्योग र प्राधिकरण दुवैको लागि सकारात्मक संकेत भएको बताएको छ । यसले भविष्यमा उद्योग र विद्युत प्रदायक सम्बन्धलाई मजबुत बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्