कार्तिक २, काठमाडौं ।।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्।
स्वास्थ्य समस्याका कारण ८० वर्षीय वैद्यले स्वेच्छिक रूपमा नेतृत्व जिम्मेवारीबाट अवकाश लिने निर्णय गरेका हुन्। वैद्यको राजीनामापछि पार्टीले सीपी गजुरेललाई नयाँ महासचिव नियुक्त गरेको छ।
पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार अब वैद्य सल्लाहकार र विशेष समितिमा मात्र रहनेछन्।
मोहन वैद्यले २०६९ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी पार्टीसँग मतभेद भएपछि नयाँ पार्टी नेकपा–माओवादी गठन गरेका थिए।
पछिल्लो पटक २०८१ मंसिरमा सम्पन्न एकता महाधिवेशनपछि गठन भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा वैद्य महासचिव बनेका थिए।वैद्य माओवादी आन्दोलनका पुराना भूमिगत नेता हुन्।
उनी प्रचण्डसँगै भूमिगत संघर्षका वर्षौँ लामो सहयात्री भए पनि पछि विचार र रणनीतिमा मतभेद देखिँदै छुट्टिएका थिए।
पार्टी स्रोतका अनुसार अब गजुरेलको नेतृत्वमा संगठनलाई नयाँ दिशातर्फ लैजाने रणनीति तय गर्ने तयारी भइरहेको छ।