कार्तिक ४, पोखरा ।।
कास्की प्रहरीले पछिल्ला तीन दिनभित्र विभिन्न स्थानमा छापा मार्दै जुवातास खेल्ने र खेलाउने २० जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विशेष सूचनाका आधारमा पोखरा महानगरका विभिन्न ठाउँमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद, तास र कौडाका गोट्टीसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यही असोज २ गते नयाँबजार क्षेत्रबाट पाँच जनालाई पक्राउ गरिएको थियो। उनीहरूको साथबाट प्रहरीले २ सय १२ पत्ती तास र नगद २ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ बरामद गरेको छ।
त्यसैगरी, असोज ३ गते बिहान बिजयपुरको लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेका सात जनालाई पक्राउ गरिएको छ।
उनीहरूबाट १४ थान कौडाका गोट्टी र नगद ७७ हजार २ सय ५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। सोही दिन राति पोखरा -२, मोहरिया टोलमा छापा मार्दा आठ जना पक्राउ परेका थिए।
उनीहरूको साथबाट ६ बुक तास र नगद २ लाख ७३ हजार ४ सय ४५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतका अनुसार पक्राउ परेकाहरू विरुद्ध जुवा ऐन, २०२० बमोजिम थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको छ ।















