कार्तिक ४, काठमाडौं ।।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूका लागि सरकारले भैपरी खर्च बापत ४८ लाख ५८ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।
सरकारले घाइतेको अवस्था अनुसार वर्गीकरण गरी राहत वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सरकारले उक्त रकम उपलब्ध गराएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले रकम वितरण गर्न सम्बन्धित ठाउँमा पठाइएको छ।
गृह मन्त्रालयका अनुसार पहिलो चरणमा झापा, मोरङ, सुनसरी, कास्की, काठमाडौँ, ललितपुर, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेहरूलाई उक्त रकम पठाइसकिएको छ।
मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार तत्कालका लागि भैपरी खर्च उपलब्ध गराइएको र त्यसपछि प्राविधिक समितिको प्रतिवेदनका आधारमा थप सहयोग प्रदान गरिने बताइएको छ।
स्वास्थ्य मन्त्रालयले हालसम्म २ हजार ४ सय २९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइसकेको जनाएको छ।
यस्तै गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान र उपचार सहज बनाउन सरकारले विशेष परिचयपत्र वितरण समेत गरेको छ।
यसका साथै सरकारले घाइतेहरूको दीर्घकालीन उपचार र पुनर्स्थापनाका लागि तोकिएका अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका अनुसार हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी रकम घाइतेहरूको उपचारमा खर्च भइसकेको छ।