कार्तिक ५, काठमाडौं ।।
नेपालको मौलिक इतिहास र संस्कृतिको प्रतीक नेपाल सम्वत् ११४६ बुधबार(आज) देशभर विभिन्न कार्यक्रमका साथ उत्साहपूर्वक मनाइँदैछ ।
नेवार समुदायले यस दिनलाई नयाँ वर्षको रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । नेपाल सम्वत्को सुरुवात राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत् सुरु गरेका थिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार, “नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भई पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्का रूपमा प्रचलित थियो ।
यो सम्वत् नेपाल देशकै नामबाट राखिएको मौलिक सम्वत् हो।” वि. सं. २००७ सालमा प्रजातन्त्रको स्थापना पछि नेपाल सम्वतलाई पुनः राष्ट्रिय मान्यता दिलाउने अभियान सुरु गरिएको थियो।
सो प्रयासको परिणाम स्वरूप वि.सं. २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले यसलाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिने घोषणा गरेका थिए।
विषेशगरी गरिब जनताको ऋणमोचन गर्दै सामाजिक सेवाको अनुपम उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वाको योगदानको कदर गर्दै वि.सं. २०५६ को नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उनलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
नेपाल सम्वत् नयाँ वर्षको अवसरमा आज काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा भीमेश्वर, बाह्रबिसे लगायतका नेवार समुदाय बसोबास भएका क्षेत्रहरूमा विविध सांस्कृतिक कार्यक्रम, रथयात्रा, नाचगान र दीप प्रज्वलन आयोजना गरिएको छ।
कार्तिक कृष्ण औँसीका दिन पुराना बहीखाता बन्द गरी, कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने चलन आज पनि काठमाडौं उपत्यकामा जीवित छ।
नेपाल सम्वत् केवल नयाँ वर्षको उत्सव मात्र होइन, नेपालको मौलिक पहिचान, इतिहास र सामाजिक न्यायको प्रतीक बनेको छ।