आज मानव र प्रकृतिबीचको सह-अस्तित्वको सन्देश दिने हलि तिहार र गोवर्धन पूजा
  • प्रमुख खबर

Oplus_131072

कार्तिक ५, पोखरा ।।
यमपञ्चक अर्थात् तिहारको चौथो दिन बुधबार (आज) देशभर गोरु र कृषकको पूजा गरी “हलि तिहार” तथा “गोवर्धन पूजा” उत्साहपूर्वक मनाइएको छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन पर्ने यो पर्वमा वर्षभर खेत जोतेर मानव जीवनलाई सहज बनाउने गोरुलाई पूजाआजा गरी मीठा परिकार खान दिने प्रचलन छ ।

मानव जीवनका अभिन्न सहयोगी गोरुलाई आज देवाधिदेव महादेवको वाहन साँढेको प्रतीकका रूपमा पूजा गरिन्छ ।

यस दिन केवल गोरु मात्र होइन, खेत जोत्ने हलि तथा कृषकहरूलाई पनि सम्मानपूर्वक पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ । त्यसैले यो पर्वलाई हाली तिहार भनेर पनि चिनिन्छ ।

त्यस्तै आजकै दिन देशभर गोवर्धन पर्वतको प्रतीकस्वरूप आँगनमा गाईको गोबरबाट सानो पर्वत बनाइ पूजा गर्ने परम्परा छ ।

धार्मिक मान्यता अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाएका थिए ।

यही घटनाको स्मरणमा आजको दिन गोवर्धन पूजा गर्ने चलनको सुरुवात भएको धार्मिक मान्यता रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार गोवर्धन पूजा प्रतिपदाका दिन सूर्योदय भइसकेपछि गर्ने विधि उत्तम मानिन्छ ।

गोरु, किसान र कृषिप्रति सम्मान व्यक्त गर्ने यो पर्वले मानव र प्रकृतिबीचको सह-अस्तित्वको सन्देश समेत दिने गरेको छ

तपाईको प्रतिक्रिया दिनुहोस्