जुवातास नियन्त्रणमा कास्की प्रहरीको कडाइ, थप सात जना पक्राउ
  • प्रमुख खबर

कार्तिक ५, पोखरा ।।
कास्की प्रहरीले जुवातास खेलिरहेका सात जना व्यक्तिलाई पक्राउ गरेको छ।

कास्की जिल्लाका विभिन्न स्थानमा जुवातास खेलिँदै आएको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार साँझ वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा–१६, माथिल्लो दीप क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकासँग चार बुक तास र नगद २ लाख ९५ हजार ६ सय ७५ रुपैयाँ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार पक्राउ परेका सातै जना माथि थप अनुसन्धान भइरहेको छ।

विषेशगरी जुवातास नियन्त्रण गर्नु कास्की प्रहरीको निरन्तर अभियान भएको उनले बताए।

अहिलेसम्म कास्की प्रहरीले विभिन्न स्थानबाट २७ जना जुवातास खेल्ने र खेलाउने व्यक्ति सहित करिब ८ लाख ९७ हजार ७ सय ८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिइसकेको छ।

प्रहरीले तिहार लगायतका चाडपर्वका बेला सामाजिक अनुशासन र सुरक्षामा समस्या सिर्जना हुने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

बस्नेतका अनुसार जनसुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न यस्ता कार्यविरुद्ध कडा कानूनी कारबाही हुने चेतावनी समेत दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्