कार्तिक ६, पोखरा।।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहीबार(आज) भाइटीका देशभर श्रद्धा, स्नेह र उल्लासका साथ मनाइँदैछ।
आजको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने परम्परा रहेको छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका यस वर्ष तिथि वृद्धि भई तिहारको छैटौँ दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस दिनलाई “यमद्वितीया” पनि भनिन्छ । यस दिन यमराज र यमुना बीचको भाइबहिनी सम्बन्धको सम्झना गरिन्छ।
समितिका अनुसार आज दिनभर टीका लगाउन कुनै रोकावट नभए पनि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त सबैभन्दा शुभ मानिएको छ।
समितिले यस वर्ष दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्किएर टीका लगाउनुपर्ने जनाएको छ।
टीका लगाउँदा दिदीबहिनीहरूले लक्ष्मीपूजाको दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टदलमा अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजलगायत देवताको पूजा गर्ने परम्परा रहिआएको छ।
त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री वा गोदावरीका माला र पञ्चरङ्गी टीका लगाइन्छ।
यद्यपि पछिल्ला वर्षमा सप्तरङ्गी टीकाको चलन बढ्दै गए पनि शास्त्रीय रूपमा भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङ्ग नै तिहारमा टीकाका मानक रंग हुन्।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी आदि मिष्ठान्न दिने परम्परा छ भने दाजुभाइले पनि गच्छे अनुसारका उपहार र दक्षिणा दिई कृतज्ञता प्रकट गर्ने प्रचलन छ।