निरन्तर झरीले जनजीवन प्रभावित, हिमाली क्षेत्रमा हिमपात बढ्दै
  • प्रमुख खबर

कार्तिक १४, काठमाडौं ।।
देशका पूर्वी र मध्य भागसहित धेरै स्थानमा हिजोदेखि लगातार वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपात भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा मोरङमा ८७, सप्तरीमा ७४, उदयपुरमा ७२ र झापामा ६० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।

शुक्रबार(आज) पनि कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा ठूलो हिमपातको पूर्वानुमान गरिएको छ।

हिजोको तुलनामा आज अझ बढी वर्षा हुने र भोलिदेखि क्रमशः मौसम सुधार हुँदै जाने महाशाखाको अनुमान छ।

मौसमविद्हरूका अनुसार हालको लगातार वर्षामा दुई प्रणालीको संयुक्त प्रभाव देखिएको छ।

पश्चिमी वायुको सक्रियतासँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ दुवैको असरले देशभर वर्षा भएको हो।

महाशाखाका अनुसार अरब सागरको प्रणाली मङ्गलबारदेखि कमजोर हुँदै गएको भए पनि बङ्गालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवातको प्रभाव अझै जारी रहेकाले आज पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्