कार्तिक १७, काठमाडौं ।।
देशको राजनीतिक अस्थिरता बीच नेकपा माओवादी केन्द्र र गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ।
उक्त तीन बुँदे सहमतिसँगै किराती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा औपचारिक रूपमा समाहित भएको छ।
सहमति पश्चात आज सार्वजनिक गरिएको सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्यव्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्यका लागि एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ।
सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका छन्।
सहमति पश्चात् जारी संयुक्त अपिलमा मजदुर, किसान, सुकुमवासी, वित्तीय शोषणपीडित, जातीय तथा क्षेत्रीय समुदाय र पहिचानसहितका जनसमुदायबीच समाजवादी ध्रुवीकरण सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता र संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था कार्यान्वयनमा जुट्न आह्वान गरिएको छ।
दुई पार्टीबीच भएको सहमतिको पहिलो बुँदा अनुसार विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गरिने र त्यसको आधारमा वर्गीय एकता तथा रुपान्तरणको दिशा तय गरिनेछ।
दोस्रो बुँदामा किरातीले प्रस्तुत गरेको “देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र” अवधारणामा पार्टीभित्र गहन छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने उल्लेख छ।
यस्तै तेस्रो बुँदामा भने किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू माओवादी केन्द्रमा ध्रुवीकृत हुने निर्णय गरिएको छ।













