कार्तिक १७, पोखरा ।।
पोखरालाई स्वास्थ्य तथा आरोग्य पर्यटनको हबका रूपमा विकसित गर्ने लक्ष्यसहित सोमबार(आज) एक राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।
स्वास्थ्य विज्ञान तथा आरोग्य सेवामा क्रियाशील विज्ञहरूको संस्था मेडिकनेक्टको आयोजनामा भएको उक्त कार्यक्रममा पोखराको स्वास्थ्य–पर्यटन सम्भावना र आवश्यक पूर्वाधारका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र विविध सांस्कृतिक पृष्ठभूमिले यसलाई स्वास्थ्य र आरोग्य पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सक्ने बताए ।
उनका अनुसार ध्यान, योग र वैकल्पिक उपचार प्रणालीलाई पर्यटनसँग जोडेर पोखरालाई अन्तर्राष्ट्रिय स्तरको “हिलिङ डेस्टिनेसन” बनाउन सकिन्छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पोखराको पर्यटकीय पहिचानलाई स्वास्थ्य र आरोग्यसेवासँग संयोजन गर्न आवश्यक नीति, लगानी र समन्वयको खाँचो औंल्याए।
उनीहरूले सरकार, निजी क्षेत्र र स्थानीय निकायबीच सहकार्यमार्फत स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय उपचार सेवा र अन्तर्राष्ट्रिय प्रमाणीकरणमा जोड दिनुपर्ने सुझाव दिएका छन्।
सहभागीहरूको निष्कर्षमा पोखरा केवल साहसिक र दृश्यावलोकन पर्यटनकै केन्द्र नभई “स्वास्थ्य र आत्मिक पुनर्जागरण” का लागि पनि विश्वस्तरको गन्तव्य बन्ने क्षमता बोकेको शहर हो भन्ने सर्वसम्मति व्यक्त गरिएको छ।













