कार्तिक १८,पोखरा
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको छोरेपाटन प्रहरी चौकीको मर्मत कार्य सम्पन्न गरी पुनः सञ्चालनमा ल्याइएको छ ।
मर्मत कार्यलाई सफल बनाउन डेभिजफल क्लब, छोरेपाटनको पहलमा विभिन्न व्यक्ति, संघ–संस्था र समुदायबाट आर्थिक तथा वस्तुगत सहयोग प्राप्त भएको हो । सहयोग रकम र सामग्री सहयोग गर्ने महानुभावहरूको नामावली क्लबले सार्वजनिक गरिसकेको छ ।
सहयोगीमध्ये गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, वेद प्रसाद अधिकारी (शंकर), ध्रुव काफ्ले (हिमालयन मार्ट), डेभिजफल ड्राइभिङ सेन्टर, नवराज पोखरेल, शिशु कल्याण बोर्डिङ स्कुल, ग्रुपडेभर महिला जागरण समाज, विजय गुरुङ, गोविन्द गुरुङ लगायतका दर्जनौं व्यक्तित्व तथा संस्थाले उल्लेखनीय सहयोग गरेका छन् ।
त्यस्तै, पोखरा प्राइभेट हस्पिटल एसोसिएसन, रामघाट समाज, शितलचौतारी आमा समूह, विभिन्न टोल विकास संस्था, क्लबहरू तथा व्यवसायीहरूले सामग्री सहयोगसमेत गरेका छन् ।
भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा चौकीमा रहेको मोटरसाइकल जलेर ध्वस्त भएपछि ड्युटीमा बाधा परेको महसुस गरी डेभिजफल क्लबले नयाँ मोटरसाइकल सहयोग गरेको क्लबका महासचिव दीपक सुवेदीले जानकारी दिएका छन् ।














