गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला
  • प्रमुख खबर

कार्तिक १८, गोरखा

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन आरोहीको शव आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव हिउँले पुरिएको अवस्थामा भेटिएको हो । दुवै जनाको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको उनले बताए ।

पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरबीच अलपत्र परेका थिए ।

उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक ६४ वर्षीय भेल्टर परलिनोलाई गत आइतबार हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी उनका साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्