भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा करोडौं जम्मा, जनसहभागिता उत्साहजनक
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १८, काठमाडौं ।।
जेनजी आन्दोलनका क्रममा नष्ट भएका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म ६ करोड २४ लाख रुपैयाँ जम्मा भएको छ।

भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका बेला आगजनी, तोडफोड र अतिक्रमणका कारण विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय र सार्वजनिक सम्पत्तिहरूमा व्यापक क्षति पुगेको थियो।

ती संरचनाको पुनर्निर्माणका लागि सरकारले असोज २८ गते सर्वसाधारण, निजी क्षेत्र, गैरआवासीय नेपाली, दातृ निकाय, विकास साझेदार र विभिन्न संघ–संस्थालाई सहयोगका लागि औपचारिक आह्वान गरेको थियो।

सरकारले सहयोगकर्तालाई कर प्रणालीमा पनि प्रोत्साहन दिएको छ। चालू आर्थिक वर्षभरि कोषमा प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गरिएको छ।

‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा जम्मा हुने रकम सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको १९६०१००१०२०७०००४ नम्बरको विशेष खातामार्फत व्यवस्थापन भइरहेको छ।

सरकारका अनुसार प्राप्त रकम चरणबद्ध रूपमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र मर्मतमा प्रयोग गरिनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्