भारतमा भीषण सवारी दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु
  • प्रमुख खबर

पुस १,काठमाडौँ

भारतमा करिब एक दर्जन सवारीसाधन एकापसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको मथुरास्थित दिल्ली–आगरा–यमुना एक्सप्रेस–वेमा बाक्लो हुस्सुका कारण मंगलबार बिहान ठूलो दुर्घटना भएको हो ।

मंगलबार बिहान करिब साढे चार बजे सातवटा बस र तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ । ठक्करपछि केही सवारीसाधनमा आगलागी भएको थियो, जसका कारण धेरैको ज्यान गएको जनाइएको छ ।

दुर्घटनामा थुप्रै यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकका अस्पतालमा भर्ना गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मुख्यमन्त्री योगीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्