भुक्तानी संकटले स्वास्थ्य बीमा सेवा प्रभावित, वीर अस्पतालले औषधि वितरण अवधि घटायो
  • प्रमुख खबर

फागुन १, काठमाडौँ//

काठमाडौंस्थित वीर अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराउँदै आएको सेवामा कटौती गरेको छ। अस्पतालले यसअघि दीर्घरोगका बिरामीलाई बीमा मार्फत एकैपटक तीन महिनासम्म पुग्ने औषधि उपलब्ध गराउँदै आएकोमा अब भने एकपटकमा अधिकतम एक महिनासम्मका लागि मात्रै औषधि दिने निर्णय गरेको हो।

अस्पताल प्रशासनका अनुसार उक्त निर्णय १ फागुनदेखि लागू गरिएको छ। जारी सूचनामा अर्को व्यवस्था नभएसम्म बिमित सदस्यलाई एक महिनाका लागि मात्रै औषधि उपलब्ध गराइने उल्लेख गरिएको छ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माले स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि भुक्तानी नआएका कारण सेवा कटौती गर्न बाध्य भएको बताए। उनका अनुसार बीमा मार्फत उपचार गराएका बिरामीको ४० करोड रुपैयाँभन्दा बढी रकम अस्पतालले अझै पाउन बाँकी रहेको छ।

“वीर अस्पताल गरिब र विपन्न नागरिकको मुख्य सहारा हो। सबै सेवा बन्द गर्दा बिरामी प्रत्यक्ष मारमा पर्छन्, त्यसैले आर्थिक दायित्व कम गर्न आंशिक रूपमा सेवा कटौती गरिएको हो,” डा. शर्माले भने। उनले औषधि खरिद नै अहिले अस्पतालको सबैभन्दा ठूलो चुनौती बनेको पनि बताए।

उनका अनुसार सरकारले समयमै भुक्तानी नगर्दा औषधि किन्न, उपकरण मर्मत गर्न र नियमित सेवा सञ्चालन गर्न समेत कठिन भइरहेको छ। “सेवा धान्न नै मुस्किल अवस्था सिर्जना भएको छ,” उनले थपे।

यता, देशभर सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रम नै गम्भीर आर्थिक संकटमा परेको देखिएको छ। लामो समयसम्म उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले समेत बीमा सेवा सीमित गर्ने वा समयसीमा तोकेर बन्द गर्ने अवस्था आउन थालेको छ।

बीमा बोर्डका तथ्यांक अनुसार सूचीकृत स्वास्थ्य संस्थाहरूलाई असार मसान्तसम्मको ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। यस अवस्थाले बिमित नागरिक सेवा पाउनबाट वञ्चित हुने मात्र होइन, समग्र स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम समेत बढाएको सरोकारवालाहरूको चिन्ता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्