फागुन २, काठमाडौँ//
हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रीलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तयारी तीव्र पारिएको छ। आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रूपमा दर्शन गराउन पशुपति क्षेत्र विकास कोष ले आवश्यक व्यवस्थापनको कामलाई तीव्र बनाएको जनाएको छ।
कोषका अनुसार पर्वका बेला लाखौं भक्तजनको आगमन हुने भएकाले दर्शन, सुरक्षादेखि सरसफाइ र व्यवस्थापनसम्म विशेष योजना बनाइएको छ। महाशिवरात्रीलाई लक्षित गर्दै साधुसन्तहरू पनि पशुपति परिसरमा आउन थालिसकेका छन्। हरेक वर्षझैँ यस पर्वका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत ठूलो संख्यामा साधुसन्त आउने परम्परा रहेको छ।
पर्व सम्पन्न भएपछि आउने साधुसन्तलाई दान–दक्षिणासहित बिदाइ गर्ने चलन समेत रहँदै आएको छ। महाशिवरात्रीका दिन स्वदेशका साथै भारतका विभिन्न स्थानबाट भक्तजनहरू पशुपतिनाथको दर्शनका लागि आउने भएकाले पशुपति क्षेत्रमा विशेष मेला समेत लाग्ने गर्दछ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीमा शिवालयहरूमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ। यस दिन भगवान शिवलाई बेलपत्र चढाउने, उपवास बस्ने र रात्रि जागरण गर्ने धार्मिक परम्परा रहेको छ, जसले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।












