कास्की अदालतको निर्णयपछि रवि लामिछाने: ‘खुशी छु, तर लडाइँ अझै बाँकी’
  • प्रमुख खबर

जेठ ९, काठमाडौं।।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले कास्की जिल्ला अदालतबाट आफूमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने निर्णय भएपछि खुशी व्यक्त गरेका छन्।

जिल्ला अदालत कास्कीले अभियोग संशोधन गर्दै ती दुई अभियोग हटाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “मैले आदेश पूर्ण रूपमा पढ्न पाएको छैन, तर अदालतको आदेश हामीले मान्नैपर्छ। यस निर्णयले मलाई खुशी बनाएको छ।”

यद्यपि, लामिछानेले आफ्नो कानुनी लडाइँ अझै समाप्त नभएको स्पष्ट पारे। अन्य जिल्लाहरूमा समेत मुद्दा बाँकी रहेकाले आगामी दिनमा थप कानुनी प्रक्रिया सामना गर्नुपर्ने उनले बताए। “लडाइँ अझै बाँकी छ, अन्य जिल्लाहरू पनि जानुपर्ने छ,” उनले भने।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार दिएको आदेशमा सहकारी ठगीको अभियोग कायम राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप हटाइएको उल्लेख छ। उक्त आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम गरिएको हो।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा अभियोग संशोधनका लागि निवेदन दिएको थियो। सोही निवेदनमाथि करिब साढे चार महिनापछि अदालतले निर्णय सुनाएको हो।
अब कास्की जिल्लामा लामिछानेमाथि सहकारी ठगीसम्बन्धी अभियोग मात्र कायम रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्