जेठ ९,काठमाडौं।।
जल तथा मौसम विभागले देशका केही क्षेत्रमा अत्याधिक गर्मी बढ्ने सम्भावना देखिएको भन्दै तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गरेको छ।
विभागका अनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्नेछ भने केही स्थानमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको छ।
मौसमविद् का अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिनको प्रभाव देखिनेछ। उनले यसबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
हालैका दिनहरूमा सुदूरपश्चिम र लुम्बिनीका केही स्थानहरूमा तापक्रम ४० डिग्री नाघिसकेको छ भने धेरै ठाउँमा ३८ डिग्रीभन्दा माथि मापन गरिएको विभागले जनाएको छ।
विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लालाई अद्यावधिक सूचीमा राखेको छ।
तातो हावा र लुका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विभागले सचेत गराएको छ।
बच्नका लागि अत्यधिक गर्मीमा घरभित्र वा चिसो स्थानमा बस्ने, चर्को घाममा बाहिर ननिस्किने, हल्का सुती कपडा लगाउने, टाउको छोप्ने, प्रशस्त पानी तथा झोल पदार्थ पिउने र समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।
साथै, मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने बुलेटिन नियमित रूपमा हेरी अद्यावधिक जानकारी लिन पनि आग्रह गरिएको छ।











