अषाढ ३२, काठमाडौं ।।
नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । यससँगै उनलाई नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा थप छ महिना कैद तोकेको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा उनलाई आठ वर्ष कैदसँगै थप छ महिनाको कैद सजाय समेत तोकेको हो ।
अदालतले उनीसँगै घुस दिएको आरोप लागेका व्यवसायी आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोेकेको छ । अनि नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो ।
यस्तै रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरुसँग विगो कायम भने गरेको छैन । तर घुस लिएको भनिएको रकम तीन करोड ८ लाख रुपैंयालाई दामासाहीमा बाँडेर एक करोड ५४ लाख रुपैंयाका दरले जरिवानाको फैसला गरेको हो ।









