आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईदै
  • प्रमुख खबर

पोखरा ।।

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइँदैछ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ । जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने, जलवायु अनुकूलका प्रविधि प्रयोगमा जोड दिने यसवर्षको नाराको मुख्य उद्देश्य छ । आज धान दिवस तथा रोपाइँ महोत्सव काठमाडौं, पोखरा लगाएत देशका बिभिन्न ठाउँमा मनाईदैछ  ।

असार १५ का दिन आज दहीचिउरा समेत खाएर रमाइलो गर्ने चलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाने गर्छन् । २०६१ साल मङ्सिर २९ गते सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ । यसवर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण छ ।

अस्ति बुधवारसम्म १ लाख ६६ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । अहिले किसानलाई प्रमुख बाली धान रोपाइँको चटारो छ । उत्पादन बढाउने सरकारको उद्देश्य भए पनि मनसुन फेरबदल, समयमै बीउ, मलखाद नपाउने, सिँचाइको अभावलगायतका समस्या यथावत् छन् । यो अघिल्लो वर्ष २०७८/७९ को तुलनामा ६ दशमलव ९४ प्रतिशतले धेरै हो । पोहोर परारको तुलनामा धान उत्पादन केही बढे पनि तीन वर्षअघिको तहमा पुग्न सकेको छैन । नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७/७८ मा भएको थियो । त्यस वर्ष रासायनिक मलको व्यवस्थापन तथा मौसमले पनि साथ दिएका कारण ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो ।

फाईल तस्बिर 

तपाईको प्रतिक्रिया दिनुहोस्