काठमाडौं – ‘पूर्णबहादुरको सारंगी’ जस्तो चर्चित फिल्मपछि अभिनेता विजय बरालले नयाँ फिल्म साइन गरेका छन्। पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको नाम ‘जनै हराएको बाहुन’ हो।
बरालले आफू यो फिल्ममा आकर्षक कथाले तानेर सामेल भएको बताए। उनले भने, ‘कथा मन परेर म जोडिएको हुँ।’
फिल्मको निर्देशन हिमाल न्यौपानेले गर्नेछन् भने कथा, पटकथा, र संवाद भानुभक्त ढकालले लेखेका छन्।
‘जनै हराएको बाहुन’ गाउँबाट सहर आएका एक साधारण मानिसले भोगेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा पारेको प्रभावको कथा हो। निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार फिल्मले दर्शकलाई अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ।
फिल्मका निर्माताहरूमा कमल न्यौपाने, आरके मानन्धर, सीआर बस्नेत, बिमल न्यौपाने, र निशान्त श्रेष्ठ छन्। फिल्मको छायांकन नवीन गुरुङले गर्नेछन् भने क्रिएटिभ निर्देशकको रूपमा सम्राट महर्जन ‘ज्याक’ रहेका छन्।













