पोखरा ।।
कास्कीको पालिकाहरूको आर्थिक वर्ष २०८० र ८१ को वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक भएको छ ।
जिल्ला समन्वय समिति(जिसस ) कास्कीले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नतिजा सार्वजनिक गरेको हो।
सो नतिजा कूल सय अंकभारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत, अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत, पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरेको जिसका प्रमुख लिलाधर पौडेलले जानकारी दिएका छन् ।
नतिजा सार्वजनिक गरेलगत्तै उनले कास्कीको पालिकाहरूको वित्तीय सुशासनको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको बताए ।
उनले ४० प्रतिशतभन्दा तल उच्च जोखिम , ४० प्रतिशतबाट ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० भन्दा माथि अंक प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी वर्षका नतिजामा सुधार हुने गरी आफ्ना कार्य सम्पादन गर्न पालिकाहरूलाई थप गम्भीरतापूर्वक लाग्नुपर्ने बताए ।
यस्तै पौडेलले वित्तीय सुशासनको विषयलाई पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउन जरुरी भएको उल्लेख समेत गरेका छन् ।









