पाेखरा ।।
पाेखरामा महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा चार जना युवाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तीन भारतीय र एक नेपाली नागरिक छन् ।
विभिन्न ठाउँबाट पटक पटक महँगा भाँडा र तामाका तारहरु चोरी गरेको पाइएपछि उनीहरुलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेकाे हाे ।
कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरुमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका-२ का ३१ वर्षीय श्यामकुमार तामाङ छन् ।
यस विषयमा अनुसन्धानका गर्ने क्रममा चोरी गरिएका ती सामानहरु कवाडीमा बेच्ने गरेको खुलेपछि कास्की प्रहरीले जेठ २३ गते मनोज कुमार सिंहले सञ्चालन गरेको कवाडी खानामा छापा मारेको थियो ।
साे क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी बस्नेतले जानकारी दिएका छन् ।
उनीहरुको कारखानबाट प्रहरीले ८२ किलो तामाको तार, साढे २ किलो आल्मुनियम, पित्तलका धाराका टुटी ५१ थान (१६ किलो), पित्तलको सकेट ९७ वटा (१८ किलो), पित्तलको गेटबल १०५ वटा (८५ किलो), नक्कली गरगहना २१ किलो, तामाका कलश १० थान, चरेश कचौरा ३ थान, चरेश दियो बाल्ने पाला ३ थान, चरेश कलश १ थान, तामाको पानी पिउने फिल्टर १ थान र तामाको तार साढे १ किलो बरामद भएको छ ।
पक्राउ परेका चार जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताएका छन् ।











