स्याङ्जा ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं संरक्षण अभियन्ता दिनकर नेपाल र मेघ आलेमाथि रड प्रहार भएको छ ।
स्याङ्जाको वालिङमा आँधीखोला संरक्षणको विषयलाई लिएर उनीहरु माथि वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरेका हुन् ।
यस विषयलाई रास्वपाका नेता एवं अभियन्ता नेपालले वडाध्यक्ष खनालले आफू र अर्का अभियन्ता मेघ आलेमाथि फलामको रडले आक्रमण गरेको आरोप लगाएका छन् ।
आँधीखोला बचाउँ अभियान अन्तर्गत वालिङ नगरपालिका–९ स्थित दरबारचोकमा आयोजित विरोध कार्यक्रम सकेर फर्कने क्रममा आफूहरूमाथि आक्रमण भएको पीडित नेपालले बताएका छन्।
उनकाे एउटा हातमा निल डाम हुने गरि वडाध्यक्षले अाक्रमण गरेका छन् भने टाउँमा लगाएकाे हेलमेटका कारण भने ठूलो दुर्घटना हुनबाट जाेगिएका छन् ।
यता, वडाध्यक्ष सुनिल खनालले भने नेपालले अाफ्नाे चरित्र हत्या गरि उत्तेजना फैलाएपछि सामान्य धकेलाधकेल मात्र भएको दाबी गरेका छन्।
उनले घटनालाई अतिरञ्जित गरी सस्तो राजनीति गर्न खोजेको आरोप समेत लगाएका छन्।
खनालले आफ्नाे फेसबुकमार्फत् नदीजन्य सामग्री उत्खनन सम्बन्धित निकायको स्वीकृति र तोकिएको शुल्क तिरेर नै गरिएको दाबी गरेका छन्।
उनका अनुसार, नेपालको नेतृत्वमा आएको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आफ्नो निजी स्काभेटर कब्जा गर्ने, ब्यानर राख्ने र नदी संरक्षणको नाममा आफूविरुद्ध हल्ला फैलाउने काम भएको जनाएका छन् ।
दुवै पक्षबीचकाे विवादका कारण प्रहरीले अहिले घटनाबारे अनुसन्धान अघि बढाएको छ।









