विन्ध्यवासिनी मा.विका सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई सम्मान सहित विदाई
  • प्रमुख खबर

श्रावण २८, पोखरा ।

पोखरा – १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई विदाई गरेकाे छ।

मंगलबार विद्यालयले एक कार्यक्रमकाबीच लामो समय अध्यापन गराएका दुवै शिक्षकलाई सम्मान सहित विदाई गरेकाे हो । अध्यापन कार्यमा करिव ३८ वर्ष बिताएका बानियाँ र भट्टराईले अनिवार्य अवकाश प्राप्त गरेका हुन् । कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले शिक्षक द्वयलाई सम्मान पत्र सहित माला र दोसल्ला ओढाएर सम्मान गरे । त्यस अवसरमा वडाध्यक्ष तिमिल्सिनाले समाजलाई सुसंस्कृत र सभ्य बनाउन गुरूहरुले निर्वाह गरेको भुमिकाको चर्चा गरे। उनले यस क्षेत्र शिक्षाको उद्गम थलो भएको बताउँदै, अवकाश पछिको जीवन पनि शिक्षा क्षेत्रमा लगाउन आग्रह समेत गरे ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उनीहरूको योगदान अतुलनीय रहेको स्मरण गर्दै, शैक्षिक विकासमा उनीहरुबाट विद्यालयले सदैव सहयोग पाउने अपेक्षा राखे । शिक्षक बानियाँले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि वाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने बताए । उनले उत्कृष्ट विद्यालयमा सहायक प्रअको रूपमा रहि सेवा गर्न पाउँदा आफुलाई गर्व लागेको स्मरण गरे । शिक्षक भट्टराईले आफ्नो तर्फबाट विद्यालयलाई सदैव सहयोग रहने बताउँदै, आधारभुत तहमा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिन् । कोषबाट प्राप्त ब्याजले उत्कृष्ट एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताईएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई पञ्चेबाजा बजाएर फुल, अविर सहित सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र संचालन शिक्षक एवं परीक्षा संयोजक महेन्द्रमणि पौडेलले गरेका थिए ।

वि.सं.२०४५ साल पौषबाट राधा मा. वि. जामुने भन्ज्याङ,तनहुँबाट मा.वि.विज्ञान शिक्षकको रूपमा सेवा प्रवेश गरेका बानियाँले २०४६ माघबाट शान्ति प्रस्तावित मा.वि.,जुम्लेटीमा संस्थापक मा.वि.गणित /विज्ञान शिक्षक भै सेवा निरन्तरता हुँदै २०६२ बाट २०६६ सम्म प्र.अ. रहनुभयो । २०७४ माघमा विन्ध्यवासिनी मा.वि. बाटुलेचौरमा सरूवा भई अहिले अनिवार्य अवकाश लिएका हुन् । बानियाँ र भट्टराई दुवै जना अध्यापन सँगै सामाजिक तथा साहित्यिक क्षेत्रमा क्रियाशील रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्