श्रावण २९, पोखरा ।।
पोखराको बाटुलेचौरमा हुने २६ औ संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगिताको आन्तरिक बाहेकका अन्य तयारी लगभग पूरा भएको प्रचार–प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।
मंगलबारसम्म १६ वटा समुह दर्ता भएका छन् । महेश्वर खनाल भजन समूह तनहुँ, भद्रकाली खैंजडी भजन समूह धादिङ, हरिहर भजन कीर्तन समूह स्याङ्जा, सहित कास्कीका विभिन्न भजन टोली र विद्यालयका सानासाना विद्यार्थी सहभागी भजन टोली पनि सहभागी हुने बताइएको छ । बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताका लागि प्रतिष्ठानले बुधबार गोलाप्रथाबाट टाइसिट समेत सार्वजनिक गरेको छ । प्रतियोगितालाई व्यवस्थित गर्न गठित विभिन्न २३ वटा उपसमितिले तयारी पूरा गरेको र केही आन्तरिक काम मात्रै बाँकी रहेको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले बताए ।

प्रतियोगिताको व्यापक प्रचार–प्रसार गरेको, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थासँग समन्वय भएको र दर्शकको चापलाई मध्यनजर गरी व्यवस्थित मञ्च निर्माण र सजावट गरिएको सचिव पौडेलले जानकारी दिए । कार्यक्रममा यस क्षेत्रका आमा समूह, टोल विकास संस्था र विभिन्न जातीय तथा धार्मिक संस्था आ–आफ्नो पहिचान झल्कने पोसाकमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।









