भााद्र ०४, पोखरा ।।
ऐतिहासिक मैदान पोखराको बाटुलेचौरमा यसपटक पनि तीज महोत्सव हुने भएको छ। जब वर्षमा एकपटक तीजको रौनक आउने गर्छ । तब पोखराको बाटुलेचौरमा भिन्दै रमाइलो छाउने गर्छ। इतिहासलाई हेर्ने हो भने पनि पोखराको बाटुलेचौर भन्ने बित्तिकै तीज महोत्सवले रमाएको मैदान हो भनेर हामीले बुझ्दै आएका छौं । यस मैदानले दिदीबहिनीहरूलाई भिन्दै रमाइलोपन दिने गरेको छ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यसै मैदानमा दिदीबहिनीहरु छमछमी नाच्न पाउने भएका छन्। भने यसपाली पनि ऐतिहासिक तीज मेला २०८२ को तयारी तिब्र पारिएको छ।
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते स्थानीय बाटुलेचौर मैदानमा हुने मेलाको तयारी तिब्र पारिएको छ । कार्यक्रमलाई सफल बनाउनका लागी विभिन्न उपसमितिले आ आफ्नो कामलाई निरन्तरता दिएको मुल समितिका संयोजक एवं वडा सदस्य राजकुमारी बानियाँले बताईन् । बानियाँले २ दिनसम्म सञ्चालन हुने मेलाको तयारीमा मुल समिति र ८ वटा उपसमिति केन्द्रित भएको बताईन् ।
वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बाटुलेचौरको मेला परापूर्वकालदेखि नै संचालन हुदै आएको ऐतिहासिक मेला भएकाले वडा कार्यालय यसको संरक्षक बनेको बताए । अर्थ व्यवस्थापन उपसमितिका संयोजक अनिल बस्नेतले मेला सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने बताउँदै, यसका लागि विभिन्न व्यापारिक घराना र सहयोगीसँग अपेक्षा गरिएको जानकारी दिए। प्रचार प्रसार संयोजक मोहन थापाले मेला समग्र पोखरावासी कै भएको भन्दै, यसलाई सफल बनाउने दायित्व पनि पोखरेली कै भएको बताए ।
कार्यक्रममा हम्काईलो भाकालाई संरक्षण गर्ने र नयाँ पुस्तालाई जानकारी गराउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । २ दिनसम्म सञ्चालन हुने मेलामा पहिलो दिन भदौ ९ गते विहान महेन्द्र गुफा देखि मैदानसम्म प्रभातफेरी र महिला दौड, दिउँसो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता हुने र भदौ १० गते मेलाको उद्घाटन सहित समुहगत तीज गीत प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रम हुने र करिब २० टोली सहभागी हुने सहसंयोजक मन्जु नेपालीले जानकारी दिईन् ।
विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिताका संयोजक राम बहादुर बानियाँले आर्थिक असहजताका कारणले मेला छोटो भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
प्रचार प्रसार संयोजक मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मुल समितिका सदस्य भीमबहादुर गायकले संचालन गरेका थिए ।












