लामाचौर तीज महोत्सवमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा वेश लाईन ऐकेडेमी प्रथम

जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबलको फाइनलमा

  • प्रमुख खबर

भाद्र ०९, पोखरा ।।

लामाचौर तीज महोत्सव २०८२ सोमबार दोस्रो दिन पनि जारी रह्यो।नव आदर्श सामुदायिक विकास समाजको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित २७ औं संस्करणको तीज महोत्सवको दोस्रो दिन उल्लेख मात्रमा दर्शनको सहभागिता रहेको समाजले जनाएको छ।सोमबार अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भयाे। पोखराका विभिन्न १५ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा वेश लाईन ऐकेडेमी प्रथम, सुर्योदय बोडिङ्ग स्कुल द्वितीय, सोसियल पब्लिक स्कुल तृतीय र सेन्ट मेरिज , सरस्वती आदर्श विद्याश्रम र भाष्कर मेमोरियल स्कुल सान्त्वना भएका छन्। कास्की मोडनाईज्ड स्कुलले भने उत्कृष्ट भेषभुषा जितेको छ ।

प्रतिस्पर्धी विद्यालयको मुल्यांकन मनकुमार श्रेष्ठ,रविन गुरुङ र महादेव न्यौपानेले गरेका थिए। त्यस्तै तीज गीत प्रतियोगिता तर्फको नतिजा भोलि सार्वजनिक हुने छ। कार्यक्रममा चर्चित लोक दोहोरी गायक राजु ढकाल, जानकी तरामी मगर, शिव हमाल र माया गुरुङले आफ्ना तीजे भाका प्रस्तुत गरेका थिए। राजु र जानकीले केही नयाँ र पुराना प्रस्तुती राख्दा दर्शकहरु भने छमछमी नाचेका थिए। सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेकाे थियो।

यस अघि दोस्रो दिनको कार्यक्रमको उद्घाटन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिइन्। उनले यस्ता मेला महोत्सवले कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने बताईन्।

महोत्सवको अन्तिम दिन मंगलबार लामाचौर कप पुरुष भलिबल र अन्तर मावि छात्रा भलिबलको फाइनल, श्रष्ट्रा सम्मान र छात्रवृत्ति वितरणका साथै विभिन्न सांस्कृतिक कार्यक्रम हुने प्रचार प्रसार संयोजक बिष्णु प्रसाद गौतमले जानकारी दिए।

यसैविच जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरे। रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि.एम. समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जि.एम. समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जि.एम. समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए । यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको हो । फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ । जसमा टप्स र शान्ता मावि फाइनल प्रतिस्पर्धा गर्नेछन् ।

महोत्सवको समापन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा हुने बताइएको छ। महोत्सवमा औद्योगिक तथा व्यापारिक तर्फ ५० स्टल राखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्