लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति आयोग सचेत: सदस्य दवाडी
  • प्रमुख खबर

भदौ १७, पोखरा ।।
भुमिहिन सुकुम्बासी, भुमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति आयोग सचेत रहेको भुमि समस्या समाधान आयोग कास्कीकी सदस्य कृष्ण कुमारी दवाडीले बताएकी छन् ।

पुलचोक टोल सुधार समिति पोखरा–१७ को आयोजनामा छोरेपाटन दक्षिणमा मंगलबार(आज)भुमि सम्बन्धी समस्याका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो भनाई राखेकी हुन् ।

उनले महानगरबाट पाउनुपर्ने आवेदन फर्म आयोग माझ नआइपुगेको हुँदा प्रक्रियामा जान ढिलाई भएको जानकारी दिइन् ।

उनले वास्तविक सुकुम्बासीको पहिचानमा स्थानीय जनताबाट सत्यतथ्य जानकारी प्रदान गर्नुपर्ने बताउँदै पछि हुन सक्ने कार्वाहीबाट पहिल्यै नै सजग रहन आग्रह गरिन् ।

त्यस्तै निस्सा प्राप्त गरिसकेको हकमा पछि खोला, नदी, भिर जस्ता मापदण्डमा पर्न गएको खण्डमा अन्यन्त्र स्थानन्तरण गरिने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै केन्द्रिय विभागका सदस्य राम प्रसाद सुवेदीले यो अन्तिम आयोग रहेको हुँदा वास्तविक सुकुम्बासीको पहिचान हुने पुर्जा पनि यहि सरकारले प्रदान गर्नेमा ढुक्क हुन आग्रह गरे ।

नेकपा एमाले कास्की जिल्ला सदस्य एवं वडा नं १७ का इञ्चार्ज सुभाष ढुंगानाले विगतदेखि नै भुमिहिन सुकुम्बासी, भुमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको हकअधिकारका निम्ति निरन्तर आवाज उठाउदै आधारभुत आवश्यकतालाई जोड दिएको बताए ।

जिल्ला कमिटिका लेखा उपाध्यक्ष एवं वरिष्ठ पत्रकार हरि बास्तोलाले लालपुर्जा सम्बन्धि समस्या विगतदेखि नै रहेको बताउनुहुदै आयोग गठनको आठ महिना बितिसक्दा कुनै ठोस काम नआएको प्रति चिन्ता व्यक्त गरे ।

आयोगको गतिविधिलाई गतिशिल दिन स्थानिय सरकारसँगको सहकार्यलाई जोड दिन उनले आग्रह गरे ।

आफु बस्दै आएको जग्गाको कानुनी आधार नहुदा पाउनुपर्ने सेवा, सुविधाबाट बञ्चित हुनु परेको समितिका अध्यक्ष इन्द्र बहादुर खड्काले बताए।

बिकासका पूर्वाधारहरु स्थानीय सरकारको प्राथमिकतामा नपर्नु दुःखको कुरा रहेको बताउँदै सामाजिक रुपमा पनि कमजोर ठान्ने प्रवृति र व्यवहार हुने गरेको बताए ।

महानगर कमिटि सचिवालय सदस्य एवं आयोग सहजीकरण सदस्य दान बहादुर शाहीले सम्पुर्ण प्रक्रिया पुरा गरेर आवेदन महानगरमा पेश गरिसकेको जानकारी दिए । यस सम्बन्धमा आयोगले सक्रियता देखाउन आवश्यक रहेको उनको भनाई छ।

कार्यक्रममा प्रदेश कमिटि पूर्व सदस्य तोयानाथ लम्साल, जिल्ला सहकारी विभागका सदस्य लिलाराज जिसी, वडा कमिटि सदस्य शिव न्यौपाने, एमाले टोल कमिटि अध्यक्ष कमला महत, लालीगुराँस आमा समुह अध्यक्ष गिता परियार लगायतको उपस्थिती रहेको सो कार्यक्रमको सहजीकरण समिति सचिव नर बहादुर थापाले गरेका थिए।

पुलचोक टोल सुधार समितिमा करिब १३० घरधुरी रहेको छ । कार्यक्रममा आयोगले माग गरेको आवेदनको अवस्थाका बारेमा स्थानीयले चासो व्यक्त गरेका थिए ।

आयोगबाट वास्तविक सुकुम्बासीले लालपुर्जा नपाए विरोधमा उर्तिन पनि तयार हुनुपर्ने बाध्यात्मक परिस्थिति आउने चेतावनी दिएका थिए ।

यहाँ बिकासका कार्य सुस्त गति भइरहेको जनाउदै यहाँ अत्यावश्यक पानीको उचित व्यवस्थापन नहुदा समस्या भइरहेको स्थानीयको गुनासो थियो ।

फुस्रेखोलालाई मुख्य पानीको श्रोतको रुपमा प्रयोग गरिन्छ । खानेपानीको समस्याका निम्ति वडास्तरबाट पहल भने जारी रहेको तर उचित समाधान निकाल्न भने सकिरहेको छैन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्